पोखरान्युजडटकम, १२ असार –
मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको केरौँजा गाविसस्थित यारुबगरमा पहरा खोपेर क्यान्टिलिभर पुल निर्माण गरिएको छ ।
बूढीगण्डकी नदीमा आएको भेलले पदमार्ग बगाएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको आग्रहमा बेलायती दातृ संस्था डिएफआइडीले क्यान्टिलिभर पुल निर्माण गरेको हो । जिल्लास्थित प्राविधिक कार्यालयका प्रमुख सहदेवप्रसाद भण्डारीका अनुसार १९५ मिटर लामो सो पुल डिएफआइडीले रु तीन करोड ७५ लाखमा निर्माण गरेको हो । पुल निर्माण भएपछि विगत १४ महिनादेखि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्गको यारुबगर–सिर्दिवासखण्ड सञ्चालनमा आएको छ ।
दुई महिना अवधिमा सो पुल निर्माण गरिएको हो । गत वर्ष वैशाखमा गएको भूकम्पपछि झरेको पहिरो र गएको बर्खामा उर्लेको बूढीगण्डकीले यारुबगर कटान गरेपछि पदमार्ग अवरुद्ध हुँदै आएको थियो । पदमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखाको केरौँंजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसका स्थानीयवासी उहिया गाविसको लाक्पाल गाउँ हुँदै आवतजावत गर्दै आएका थिए ।
नदी कटानले बिग्रिएको चुमभ्याली जाने चुम्चेत गाविसस्थित सर्दिखोलामा पनि क्यान्टिलिभर पुल निर्माण गर्ने तयारी गरिएको छ । सो ठाउँमा बर्खापछि मात्रै पुल निर्माणको काम सुरु हुने प्राविधिक कार्यालयले जनाएको छ । मनास्लु पदमार्ग भई नुब्रीभ्याली र चुमभ्याली पुग्न सकिन्छ । दुबै भ्याली पर्यटकीय आकर्षण बोकेका क्षेत्र भएकाले बर्सेनि करिब छ हजार विदेशी पर्यटक मनास्लु पदमार्ग भई उत्तरी भेग जान्छन् ।
क्यान्टिलिभर पुल भएर बटुवाका साथै भारी बोकेका खच्ड पनि हिँड्न सक्छन् । उत्तरी गोरखामा सडक पहुँच नभएकाले स्थानीयवासीको पहुँचमा ढुवानीको एकमात्र विकल्प खच्चड रहेको छ । उत्तरी गोरखामा करिब ११ सय खच्चडले खाद्यान्न र निर्माणका सामग्री ढुवानी गर्दै आएको खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङको भनाइ छ ।
यस्तै भूकम्पपछि झरेको पहिरोले मनास्लु पदमार्गको लापुस्थित नौलीखोलामाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ । पुलको एकतर्फको भागमा पहिरोले विगारेको छ भने माथिल्लोपट्टीको बार तल झुक्दा आवागमनमा कठीनाइ भएको छ । जिल्ला विकास समितिले पुलको मर्मत गर्न आवश्यक बजेट विनियोजन गरी ठेक्का लगाइसके पनि ठेकेदारले काम सुरु गरेका छैनन् ।
पदमार्गको हावाडाँडा, लापुभीर, माछाखोला क्षेत्रमा ठूलो पहिरो झरेको छ । सो पहिरो पन्छाउन नसक्दा पर्यटक, स्थानीय तथा खच्चड हिँड्न सकेका छैनन् । लापु गाविसको खानीबेशीमा नयाँ पदमार्ग सुचारु गरी मनास्लु पदमार्गमा जोडिएको छ । पर्यटन व्यवसायी साने गुरुङका अनुसार पर्यटकीय याम सुरु हुनुअघि नै मनास्लु तथा तल्लो मनास्लु पदमार्ग सुचारु नभए घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution