पोखरान्युजडटकम –
कास्की घाचोक बासीले गाईपालन व्यवसायबाट वार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन । विगत दुई दशक देखि व्यवसायीक रुपमा गाई पालन गरेका स्थानीयले पछिल्लो क्रममा गाँउमै दुध चिस्यान केन्द्र समेत स्थापना गर्न सफल भए पछि हाल उनीहरुले घर घरमा गाई पालन व्यवसाय गर्दा लाखौं आम्दानी गर्न सफल भएका हुन ।
युवा देखि बृद्धसम्म व्यवसायीक रुपमा गाईपालनमा स्थानीय लागे देखि हिजोआज गाँउमै दैनिक जसो एक हजार २ सय देखि एक हजार ५ सय लिटर दुध संकलन हुने गरेको घाचोक दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक अमृत दवाडीले बताए । संस्थाले स्थानीयले उत्पादन गरेको दुधलाई संकलन गरी बिक्रिका लागि कास्कीको जिल्ला सहकारी संघ पोखरामा लैजाने व्यवस्था गरेको छ । उनका अनुसार दैनिक जसो घाचोकबाट प्रति परिवार न्युनतम दुई लिटर देखि अधिकतम ३० लिटरसम्म गाइको दुध संकलन हुने गरेको छ । प्रतिलिटर ४५ देखि ६० रुपैयासम्म फ्याटका आधारमा स्थानीलाई दुधको मुल्य निर्धारण गरीएको दवाडीले जनाए । ३ वटा गाई पालेका उनले मासिक रुपमा ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेको उनले जनाए ।
घाचोकमा उन्नत जातको प्रति गाई पाल्ने परिवारले सामान्यतया बार्षिक रुपमा एक लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन । पोखरा देखि करीब १८ किलोमिटर टाडा रहेको घाचोकका अधिकाशं घर घरमा जर्सी र होलीष्ट्रेन उन्नत जातको गाई पालन गरेका हुन । एक सय २५ जना भन्दा बढी स्थानीय जनताहरुको दुध दैनिक रुपमा उक्त सहकारीले घाचोकमै संकलन गर्ने गरेको सहकारीका व्यवस्थापक दवाडीले बताए । दुध चिस्यान केन्द्र (चिलिङ भ्याट सेन्टर) समेत भएकोले स्थानीयले बिहान बेलुका कुनै समयमा दुध स्टोर गर्न सक्ने भएको घाचोक दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष लिला भक्त लम्सालले बताए । ५ सय लिटर क्षमताको दुध चिस्यान केन्द्र भएकोले बेलुकाको दुध संकलनको लागि उक्त केन्द्र घाचोकको लागि बढी फाईदा जनक भएको लम्सालले जनाए । लम्साल जस्ता कृषकहरुले निर्वाह रुपमा २०४६ साल देखि दुध तथा कृषि व्यवसाय गर्दै आए पनि गाई पालनबाट बढी आम्दानी हुने भए पनि उनीहरु गाइ पालन व्यवसायमा आकर्षित भएका हुन ।
भैसीको दुधबाट व्यवसायीक सुरु भएको घाचोकमा सदावार एकै नासले दुध बिक्रि गर्ने उद्धेश्यले गाई पालनमा आकर्षीत भएका हुन । २०५१-५२ सालमा गाइ ल्याउने बाटो नभएकोले घारमा राखेर बोकेर गाई घाचोक भित्राएको उनले स्मरण गरेका छन । गुल्मीमा जागिरको शिलशिलामा विगत ५ बर्ष उतै बिताएर पुनः गाँउ फर्किएपछि उनले गाँउमा गाई पालन व्यवसायमा लाग्दै अन्यलाई हौसाएका हुन । सडक यातयातको पहुच पुगेका कारणले गर्दा पनि घाचोकका अधिकाशं घर घरमा उन्नत जातको गाई पालन फस्टाएको हो । धेरै बर्ष पहिला घाचोकबासिले लामाचौर र मर्दिपुलसम्म करीब ८ किलोमिटर टाडा दुध बिक्रिको लागि जाने गरेको लम्सालले बताए । बिद्यालय निरिक्षकको रुपमा गुल्मी पुगेका उनले अस्थायी जागिर भएको कारणले जागिर छाडेर गाँउ फर्किएका हुन । दुध बेच्ने बानीको विकास गर्दै भैसी हटाउदै गाई पालन सुरु भएको उनले जनाए । वास्तविक गाईपालन गर्ने कृषकले कुनै अनुदान नपाएको लम्सालले गुनासो गरे । २ वटा गाइबाट हाल मासिक २६ हजार आम्दानी गर्ने गरेको उनले बताए । कृषकले उत्पादन गरेको बस्तुलाई राज्यले बजारको ग्यारेन्टी दिनु गर्नुपर्ने स्थानीयको माग छ । विचौलीया प्रथालाई अन्त्य गर्दै राज्यले सिधै कृषकबाट दुध बिक्रि वितरण गर्न सके आम उपभोक्ताहरुले पनि सहुलियतमा कृषकले उत्पादन दुध उपभोग गर्न पाउने लम्सालको भनाई छ ।
मेहनतका साथ काम गरेको खण्डमा गाँउमै रोटो पिठो खाएर पनि विदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिने स्थानीय लेखनाथ अधिकारीले बताए । उनी केहि बर्ष अघि विदेश गएका थिए भने हाल उनीले आफ्नो ४ जना परिवार पाल्दै आएका छन । सहकारीका कोषाध्यक्ष समेत रहेका उनले घाचोकमा मात्र बार्षिक एक करोड भन्दा बढीको दुधको कारोवार हुने गरेको बताए ।
सरकारी अनुदान पाएको खण्डमा आफुहरुले गाई पालनको साथै कुखुरा सहित अन्य कृषि व्यवसाय गर्ने अधिकारीले दाबी गरे । युवा पिढिहरु गाई पालनमा लागे पनि स्थानीय बृद्धहरु समेत गाईपालन तर्फ आकर्षीत भएका छन । ७० बर्षीय पद्म पोखरेल पनि युवाहरु जसरी विगत ३ बर्ष देखि व्यवसायीक गाई पालन गर्दै आएका छन । उनले मासिक एक लाख जसो गाईपालनबाट आम्दानी गर्ने गरेको उनले जनाए ।