चौहत्तर प्रतिशत अदक्ष कामदार विदेशमा

  • पोखरा न्यूज
  • २०७३ अषाढ १४
Post Thumbnail

पोखरान्युजडटकम, १४ असार –

वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएका कारण ठगिने र दुखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ ।

सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबद्वारा सोमबार आयोजित ‘सुरक्षित आप्रवासन’ विषयको कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताउनुभयो । एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा ७४ प्रतिशत अदक्ष श्रमिक गइरहेका छन् ।

सो अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण पनि वैदेशिक रोजगार दुखद् बनेको छ भन्नुभयो । कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन् ।

नेपाली कांग्रेसका सचिव कोमलकान्त झाले अधिकांश रोजगारदाताले फरक प्रकृतिको काम गराई शोषण गरिरहेका छन् भन्नुभयो । नेकपा (एमाले)का राजकिशोर यादवले कम्पनीले अपारदर्शी ढङ्गले वैदेशिक रोजगारमा पठाउने गरेका कारण पनि आप्रवासन असुरक्षित बन्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो । तराई– मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साहले सम्झौता अनुरूप काम नदिने प्रवृत्ति मौलाउँदै गएको धारणा राख्नुभयो ।

सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा संयोजक यम घिमिरेले ८५ प्रतिशत व्यक्ति श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा गइरहेकाले पनि दुर्घटना र दैवी प्रकोपको बेला उद्धारमा समस्या आउने गरेको बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस