बर्दिया खाद्य सुरक्षित जिल्ला

पोखरान्युजडटकम, १४ असार –

मानो रोपेर, मुरी फलाउने जिल्लाका रुपमा चिनिन्छ बर्दिया । यहाँ नेपालको कुल उत्पादनको ६ प्रतिशत अन्न फल्छ । खाद्य सुरक्षित जिल्लाका रुपमा चिनिएको बर्दियाका प्रमुख खेती धान, गहुँ मकै नै हुन् । मसुरो, चना, तोरी, भटमास, आलुलगायतको खेती समेत यहाँ अत्यधिक गरिन्छ । व्यावसायिक रुपमा चैते धानका साथै माछा, तरकारी र च्याउखेतीमा समेत बर्दिया अग्रस्थानमा पर्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विपन्न वर्गका लागि च्याउखेती, तरकारी खेती, चैतेधान तथा बेमौसमी तरकारी खेती आयआर्जनको उत्तम माध्यम बनेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रशुराम रावतका अनुसार विदेश जाने युवा अहिले विस्तारै कृषि पेशामा आवद्ध हुँदै गएका छन् । कार्यालयले जिल्लामै धानको मूल बीउ तथा उन्नत बीउ बैंक स्थापना गरेको छ ।

“वार्षिक करिब एक हजार मेट्रिक टन उन्नत बीउ उत्पादन भइरहेको छ,” उहाँले भन्नुभयो । कार्यालयले व्यावसायिक कृषि तथा व्यापार आयोजना, एकिकृत बाली तथा जल व्यवस्थापन आयोजना र साना तथा मझौला आयस्तर वृद्धि आयोजनामा किसानलाई सहयोग गरिरहेको छ ।

जिल्लामा व्यावसायिक खेती गरी आयत प्रतिस्थापन बढाउने, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने रणनीति कार्यालयको रहेको छ । “रासायनिक विषादीको खपत न्यून गर्न आइपीएम पद्दति अबलम्वन गरेका छाँै,” कार्यालय प्रमुख रावतले भन्नुभयो । कृषि सेवा केन्द्रमा दक्ष जनशक्तिको व्यवस्था, नागरिक वडापत्र, टोल फ्रि नम्बरको सुविधा, कार्यक्रम अनुगमन तथा स्थलगत तालिमको व्यवस्था समेत कार्यालयले गर्दैआएको छ ।

बबई, कर्णाली, गेरुवा नदीबाट सिँचाइको व्यवस्था गरिएको छ । करिब ५२ हजार हेक्टरमा धान, २१ हजार हेक्टरमा गहँु तथा मकै, तोरी र मसुरो बीस बीस हजार हेक्टरमा उत्पादन हुन्छ । यस्तै ४०० हेक्टरमा माछाखेती गरी बर्सेनि रु ३० करोडको माछा बिक्री गरिँदै आएको छ । सरकारले जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन राजापुरमा बीउ भण्डार कार्यक्रमअन्तर्गत रु चार करोड सहयोग गरेको छ ।

व्यावसायिक रुपमा खेती गर्न जिल्लामा २०० वटा निजी फर्म दर्ता भएका छन् । पछिल्लो समय कृषिमा अनुदान समेत बढेको छ । युवालक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेतीमा ६० जनालाई जनही रु ६० हजारको दरले, च्याउमा ४० जनालाई जनही रु ४० हजार, सिँचाइमा आधारित मेसिनरीमा १४ वटा सहकारी प्रत्येकलाई रु एक लाख ८० हजार तथा पावर टिलर, मोटर, पम्पसेट, सिटवीन, र माछाखेतीमा प्रति व्यक्तिलाई रु तीन लाखको दरले अनुदान उपलब्ध भएको छ ।

माछापालनमा राष्ट्रिय पुरस्कार पाएका किसान छायादत्त भुसाल किसानलाई प्रोत्साहनको खाँचो रहेको बताउनुहुन्छ । “सरकारले बर्दियालाई नेपालकै कृषि प्रर्यटकीय गन्तव्यको रुपमा चिनाउने कार्यक्रम ल्याउनुपर्छ,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button