पोखरान्युजडटकम, १४ असार –
गर्मी बढेसँगै झापाका ग्रामीण बस्तीमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि वैशाखयता ठूलो सङ्ख्यामा सर्पदंशका बिरामी उपचारमा आउने गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले जनाएको छ । उपशाखा दमकले सञ्चालन गरिरहेको दमक–१२ स्थित सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक ७–८ जना बिरामी उपचारमा आउने गरेका छन् ।
गर्मीसँगै पानी पर्न थालेपछि सर्पदंशका बिरामी पनि बढेको सर्पदंश उपचार केन्द्र दमकका प्राविधिक खेम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्न थालेपछि असारको १२ दिनमा ६७ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । उहाँले पछिल्लो अढाइ महिनामा दुई सय ८३ जना सर्पदंशका बिरामीको उपचार गराएको बताउनुभयो ।
केन्द्रको तथ्याङ्कअनुसार चालु आवको वैशाखमा ७५, जेठमा एक सय ४१ र असार १२ गतेसम्म ६७ जनाले उपचार गराएका छन् । गत वर्ष केन्द्रमा एक हजार दुई सय ६७ जनाले उपचार गराएका थिए भने चालु आवको असार १२ गतेसम्ममा एक हजार ५४ जनाले उपचार गराइसकेका छन् ।
केन्द्रमा जिल्लाका गौरीगञ्ज, खजुरगाछी, महाभारा, बैगुन्धुरा, पाँचगाछीसहित सुरुङ्गादेखि माई पश्चिमका, इलामको चुलाचुली, साक्फारा, बाँझो, महमाई तथा पूर्वी मोरङको बेलबारीसम्मका बिरामी उपचारमा आउने गरेका छन् । यस्तै, विहारको फूलबारी, बैरिया क्षेत्रका बिरामी पनि आउने गरेका छन् । केन्द्रका अनुसार उपचारमा आउनेमध्ये अधिकांश महिला रहेका छन् ।
रेडक्रसले दमकमा २०५५ जेठ महिनादेखि उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । झापामा दमक र चारआलीमा गरी दुई वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
चारआलीस्थित कालीबहादुर गणको अगुवाइ तथा स्थानीयवासीको सहयोगमा चारआलीमा विसं २०६६ सालदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution