यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक

पोखरान्युजडटकम, १५ असार –

डोल्पालीका लागि मुख्य आयआर्जनको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा याम सकिएसँगै पाटन प्रवेश गरेका सङ्कलक धमाधम घर फर्कन थालेका छन् ।

गत जेठ पहिलो हप्तादेखि सुरु भएको यार्सागुम्बा याम असार १० गतेसम्म मात्र रहेकाले निकुञ्जले दिएको एक महिनाको म्याद सकिएपछि सबै फर्कन थालेको सङ्कलकले बताए । एक महिनाभन्दा धेरै समयसम्म निकुञ्ज क्षेत्रमा बस्नाले विभिन्न किसिमका आपराधिक घटना घट्नसक्ने भन्दै गत वर्षदेखि यार्सा सङ्कलन गर्र्न एक महिनाको मात्र अनुमति दिइने गरिएकाले म्याद सकिएसँगै सबै पाटनबाट झर्न थालेको निकुञ्ज संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो ।

म्याद सकिएसँगै सेना अनुगमनमा गएको बेला सङ्कलक पाटनमै रहेको पाइएमा निकुञ्जले आवश्यक कारबाही गर्नेसमेत चौधरीले बताउनुभयो । पाटनबाट फर्कने सङ्कलकमा बाँके, बर्दिया, दाङ, जाजरकोट, रुकुम, सल्यान, मुगु, जुम्ला लगायतका विभिन्न जिल्लाका सर्वसाधारण रहेका प्रहरीले जनाएको छ ।

यस वर्ष यार्सागुम्बाको ओरालो लागेको मूल्यसँगै कतिपय सङ्कलकको पाटन लगेको सामानको मूल्यसमेत नउठेपछि धेरैजसो सर्वसाधारणको मुहारमा खुसियाली भने देखिँदैन ।

यस वर्ष निकुञ्ज क्षेत्रमा मात्रै दश हजारभन्दा धेरै सर्वसाधारण प्रवेश गरेको शे—फोक्सुन्दो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा आधाभन्दा कम रहेको कार्यालयले जनाएको छ । डोल्पा नेपालकै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने जिल्लाका रुपमा चिनिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button