एम्बुलेन्स नपुग्दा समस्या

पोखरान्युजडटकम, १५ असार –

मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत नपुग्दा समस्या हुने गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्थानीयवासी ६० वर्षीय उमेश शर्माका अनुसार पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित बरियाती क्षेत्रमा धेरै खाल्डाखुल्डी परेको र भत्किएकाले एम्बुलेन्ससमेत छिर्न समस्या पर्ने गरेको छ ।

अर्का स्थानीयवासी हरिओम राजवंशीका अनुसार दैनिक तीनसयभन्दा बढी ट्र्याक्टरले सो क्षेत्रबाट बालुवा ओसार्ने गरेका छन् । जिविस मोरङले प्रतिट्र्याक्टर २३० रुपैयाँ कर उठाउँदै आए पनि सडकको मर्मतसम्भारमा चासो नदिएको स्थानीयवासी सन्तलाल खवासको भनाइ छ । सडक भत्किएको सडकको बीच भागमा हिलोले ससाना तलाउ नै बनेका छन् जसका कारण सडक प्रयोगकर्ताले सास्ती खेप्नु परिरहेको स्थानीयवासी मङ्गली अधिकारी बताउनुहुन्छ ।

स्थानीयवासी मणिराम शर्माका अनुसार सडकको गति बिग्रिएपछि सो बाटोबाट चल्ने चारवटा सार्वजनिक बससहित मोटरसाइकल चालक र अन्य सवारीसाधन चालकले समस्या झेल्नु परेको छ ।

सडकको मर्मतसम्भारका लागि स्थानीयवासी पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । सो सडक भएर बालुवा गिट्टी ओसार्ने ट्र्याक्टरबाट जिविस मोरङका अतिरिक्त स्थानीय क्लबले समेत सडक मर्मतका लागि भन्दै रसिद दिएरै रकम असुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

सडक मर्मतका लागि सङ्कलन भएको सो रकम दुरुपयोग हुने गरेको स्थानीयवासीको आरोप छ । सडककै अवस्थाका कारण त्यस क्षेत्रमा दैनिकजसो ट्र्याक्टर पल्टिने गरेको र प्रसूतिको समस्या भएका महिलालाई अस्पताल लानुपर्ने अवस्थामा एम्बुलेन्ससमेत सो सडकबाट हिँड्न नसक्ने अवस्था रहेको बबियाविर्ता–९ का दीपक थापाको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button