नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

पोखरान्युजडटकम, १५ असार –

मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आउनुभएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयवासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।

नुनखानीको पहाडै देखिए पनि उत्खनन हुन नसक्दा आयातीत नुन खानु परेकाले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयवासी धर्म गुरुङले बताउनुभयो ।

“पहिला यही क्षेत्रकै एकजनाले उत्खननको काम गर्नुहुन्थ्यो, उहाँ बुढो भएपछि यो काम बन्द भएको हो”, उहाँले भन्नुभयो, “भौगोलिक रुपमा अलि जटिल भएकाले दक्ष जनशक्ति नहुँदा समस्या भयो ।”

नुनखानी जान तेताङ गाउँको बीचमा कालीगण्डकी रहेका कारण बर्खायाममा अलि बढी समस्या हुने स्थानीयवासीको भनाइ छ । विगतमा उत्खनन् हुँदा तेताङको नुन मुस्ताङ जिल्लाका अतिरिक्त म्याग्दी, बाग्लुङ र कास्कीसम्म जाने गरेको स्थानीयवासी झोङबा गुरुङले बताउनुभयो । “हामीले यहाँबाट टुकुचे लैजान्थ्यौँ, त्यहाँबाट विभिन्न जिल्लामा व्यापार हुन्थ्यो”, उहाँले भन्नुभयो ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले परम्परागतरुपमा विगतमा नुनको उत्खनन् भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न सम्भव रहेको बताउनुभयो । “नुनखानीको ठूलो क्षेत्र छ, खोलाले बगाएर ल्याउने भएकाले स्थानीयवासीले पोखरी बनाएर उत्पादन गर्ने गरेको पाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसरी उनीहरुले पाँच हजारदेखि सात हजार केजीसम्म नुन निकाल्थे, यो भन्दा थुप्रै बढी निकाल्न सकिन्छ ।”

टोलीले यसअघि मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विषयमा जानकारी लिएको थियो । टोलीमा सहभागी खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले २२ जना सम्मिलित टोलीले लोमान्थाङमा युरेनियम र जोमसोमको ठिनी गाउँमा कोइलाखानीको समेत अध्ययन गर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button