नेपालमा हरेक वर्ष औसत दुई हजार चिकित्सक उत्पादन

 

पोखरान्युजडटकम, १६ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताउनुभयो । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ ।

प्रशासकीय अधिकृत लामा भन्नुहुन्छ, “यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उहाँले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गर्नुभयो । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उहाँले स्पष्ट पार्नुभयो ।

काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गर्नुभयो । काउन्सिल वर्षमा चारपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ ।

स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् ।

नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस ९स्नातक० र एमडी, एमएस, र एमडिएस ९स्नातकोत्तर० अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिनुभयो ।

विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् ।

त्यसैगरी, एमडी, एमएस र एमडिएस (स्नातकोत्तर) पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्ट्रेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् ।

नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button