कालीगण्डकी र मोदीमा पूर्वसूचना प्रणाली

पोखरान्युजडटकम, १७ असार –

वर्खायाममा नदीको बहावका कारण विभिन्न बस्ती खतरामा पर्ने सम्भावना बढेपछि जिल्लाका दुई ठूला नदीमा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पर्वत जिल्ला हुँदै बग्ने कालीगण्डकी नदी र मोदीखोलामा बाढीको पूर्वसूचना प्रणाली जडान गरिने भएको हो । बर्खायाममा नदीमा आउने ठूलो बहावका कारण आसपासका बस्ती खतरामा पर्ने भएकाले त्यसबाट स्थानीय बासिन्दालाई जोगाउनका लागि पूर्वसूचना प्रणाली जडान गर्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको दैवीप्रकोप उद्धार समितिको बैठकले दुई ठूला नदीमा चालु आवभित्रमै पूर्वसूचना प्रणाली जडान गर्ने निर्णय गरेको हो । कालीगण्डकी नदीका कारण उत्तरी पर्वतको वारीबेनी, मिलनचोक, फर्से, मालढुङ्गा, सहस्रधारा, प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, दक्षिण पर्वतको रानीपानी गाविसस्थित इमिचौर र विश्वकै ठूलो शालिग्राम शिला र आसपासको बस्ती बढी जोखिममा पर्ने गरेको छ भने मोदीखोलाका कारण पर्वतको डिमुवा, बिरेठाँटी, आम्बोट, दोविल्ला, मोदीवेणीलगायत स्थान खतराको सूचीमा रहेका छन् ।

उक्त प्रणाली जडान गरेपछि पानीको बहाव बढ्ने बित्तिकै खतराको सङ्केत देखिन्छ र ती क्षेत्रका बासिन्दा सम्भावित दुर्घटनाबाट बच्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७० लाई पनि अद्यावधिक गरिने भएको छ ।

त्यसैगरी, विपद्को बेलामा खोज र उद्धार कार्यका लागि गाउँ विकास समितिले आ–आफ्नो क्षेत्रभित्रका प्रहरी युनिटलाई बेल्चा, गैंती, डोरी, स्ट्रेचरलगायत उद्धार सामग्री उपलब्ध गराउन जिविस र गाविसलाई निर्देशन दिइएको छ । साथै कुश्मा नगरपालिकालाई समेत आफ्नो क्षेत्रभित्र सोसम्बन्धी आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

बैठकले जिल्लाको वारीबेनीको क्षेत्रदेखि मालढुङ्गासम्मको क्षेत्र बाढी तथा पहिरोको उच्च जोखिममा रहेको हुँदा सो क्षेत्रमा नदी नियन्त्रण कार्य र पहिरो रोकथामको कार्य अघि बढाउन सम्बन्धित निकायमा पहल गर्ने भएको छ ।

त्यसैगरी, २०७२ साल वैशाख १२ गतेको भूकम्प र तत्पश्चात्का पराकम्पनको कारणले जिल्लाको देउराली–६ स्थित जहेले क्षेत्र तथा मालढुङ्गा क्षेत्र पहिरोको उच्च जोखिममा रहेको देखिएकाले उक्त क्षेत्रको भौगोलिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई निर्देशन हुन केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई अनुरोध गरेको छ ।

जिल्लामा हाल गैरखाद्य राहत सामग्रीको मौज्दात न्यून भएको देखिएकाले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पर्वतलाई त्यस्ता सामग्रीको प्याकेज सेट ५०० थान उपलब्ध गराइदिन नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा अनुरोध गरिने बताइएको छ ।

त्यसैगरी, पर्वत जिल्ला बाढीपहिरो, आगलागी, भूकम्प, चट्याङजस्ता विपद्को उच्च जोखिममा रहेको हुँदा योजनाबद्ध तरिकाबाट विपद् जोखिम व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने देखिएको सहायक प्रजिअ ढकालले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button