ज्यामी अभावले धान रोपाइँ प्रभावित

पोखरान्युजडटकम, १८ असार –

मध्य असार झमझम पानी परेर खेतभरी पानी जमेको छ, तर ज्यामी नपाएपछि खेतमा भरिएको पानी टुलुटुलु हेरेर बस्नुबाहेक केही उपाय छैन, नगरकोट नगरपालिका–३ ताथलीका सानुभाइ गिरीको ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जेठको अन्तिम सातामा रोपाइँ सुरु हुने भक्तपुरका खेतमा केही दिन अघिदेखि सुरु भएको वर्षाले रोपाइँ गर्ने पानी खेतमा जम्मा भए पनि ज्यामी अभावले रोपाइँ गर्न नपाएपछि गिरीको जस्तै मर्का भक्तपुरका अधिकांश किसानलाई परेको छ ।

मानो रोपेर मुरी फलाउने मौसममा यहाँ खेत रोप्ने महिला रोपार र खेतमा हिलो सम्याउने पुरुष ज्यामीको अभाव भएपछि खेतमा पानी भरिए पनि खेत रोप्न नपाएको भक्तपुरका अधिकांश कृषकको गुनासो छ ।

विदेश जाने पुरुषको सङ्ख्या बढेसँगै पुरुष ज्यामीको अभाव निकै नै परेको सूर्यविनायक नगरपालिका सिपाडोलका अमृत थापाले बताउनुभयो । उहाँले भन्नुभयो– “खेतभरी पानी छ, खेतमा काम गर्ने ज्यामी नपाए पछि खेतमा भरिएको पानी हेरेर बस्नु परेको छ ।”

खेतमा पारी भरिए पनि ज्यामी अभावका कारण खेत रोप्न नपाएको बताउँदै नगरकोट नगरपालिका–३ ताथलीका शिवहरि थापाले विगतमा पर्मले खेत धान्दै आए पनि असारमा भने पर्म समेत नहुने भएकाले धान रोप्न समस्या परेको बताउनुभयो ।

गाउँमा भएका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि गाउँगाउँमा पुरुष कामदारको निकै अभाव भएको उहाँको भनाइ थियो । ताथली कै सावित्री थापाले भन्नुभयो– “असारमा ज्यामी नपाए पछि छिमेकी जिल्ला काभ्रेबाट समेत ज्यामी खोजेर रोपाइँ गर्ने गरे पनि केही वर्षयता काभ्रेबाट समेत कामदार आउन छाडेपछि रोपाइँ नै प्रभावित भएको छ, समय मै रोपाइँ नसकिएला भन्ने चिन्ता लागेको छ ।”

केही वर्ष अघि काभ्रेको टुकुचालगायतका विभिन्न क्षेत्रबाट महिला तथा पुरुष ज्यामी कामका लागि आउने गरे पनि यस वर्ष काभ्रे र भक्तपुरमा एकैपटक रोपाइँ भएकाले उताबाट पनि ज्यामी नआउँदा यहाँका कृषकले थप समस्या झेल्नुपरेको हो ।

केही पढेलेखेका पुरुष नोकरीका लागि सहर केन्द्रित हुने र कोही विदेश जाने भएपछि असारमा पनि ज्यामीको अभाव भएको हो । सुडाल गाविसका हरिशरण दुलालले भन्नुभयो– “गाउँका धेरै युवा विदेश गए, भएका पनि सहर केन्द्रित छन्, सहर बसेका खेतको काम गर्नै हुन्न जस्तो गर्छन्, धान रोप्ने चटारोमा ज्यामी नपाइँदा धान रोप्नै पाइएन ।”

सिपाडोल गाविसका अम्बिका श्रेष्ठले पुरुष र महिला दुवै ज्यामीको अभाव झेल्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– “गाउँमा पुरुष कामदार पाइएनन्, महिला पनि आ–आफ्नो खेतमै व्यस्त छन्, त्यसैले खेतमा पानी भरिए पनि ज्यामी अभावमा धान रोप्न पाइएन ।”

जिल्लामा अहिले पुरुष ज्यामीलाई १० बजेदेखि ५ बजेसम्म काम गरेको दिनको रु एक हजार र खाजा, चिया दिने गरेको र महिला कामदारलाई खाजा, चियासहित दिनको रु ७०० ज्याला दिने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button