पोखरान्युजडटकम, १८ असार –
नेपालमै पहिलो पटक नवलपरासीमा वनको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ । जिल्लामा तीन वर्ष अघिदेखिनै वनको वैज्ञानिक व्यवस्थापनको कार्य सुरु गरिए पनि अहिले सो कार्यले पूर्णता पाएको छ ।
अहिले साझेदारीतर्फ बुद्धशान्ति साझेदारी वन र मध्यबिन्दुु साझेदारी वन तथा सामुदायिकतर्फ चिसापानी सामुदायिक वन, जनजागरण सामुुदायिक वनमा वैज्ञानिक व्यवस्थापनको कार्य गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
दुई हजार ४०० हेक्टर क्षेत्रफलका चार वटा वनमा वैज्ञानिक व्यवस्थापनका काम गरिएको भए पनि विस्तारै जिल्लाका अन्य सामुदायिक, साझेदारी र सरकारी वनमा वैज्ञानिक व्यवस्थापनका काम गरिने जिल्ला वन अधिकृत विजयराज सुवेदीले बताउनुभयो । सबैभन्दा बढी बुद्ध शान्ति साझेदारी वन समूहमा एक हजार ६०० हेक्टरमा वन व्यवस्थापन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन पुनरुत्पादन कटान हो । पुराना बुटा झिक्ने नयाँ आउन दिने यो चक्रमा वन व्यवस्थापन हुँदा उपभोक्तालाई फाइदा पुग्छ ।
वनको वैज्ञानिक व्यवस्थापनअन्तर्गत वन स्रोत सर्वेक्षण, रुख नक्साङ्कन, पुनरुत्पादन गर्ने क्षेत्रमा रहेका रुखको गणना, प्रजाति, व्यास, उचाइ र गुणस्तरसमेत मापन गर्ने गरिन्छ । वनको वैज्ञानिक व्यवस्थापन गर्न आवश्यक अग्नि रेखा निमार्ण, पुनरुत्पादन कटान भएको क्षेत्रमा तारबार संरक्षण तथा पुनरुत्पादन अभिवृद्धि कार्यक्रमसमेत पूरा गर्ने गरिएको कार्यालयले जनाएको छ ।
वनको वैज्ञानिक व्यवस्थापन गर्न प्रारम्भिक चरणदेखि पुनरुत्पादन कटान कार्यसम्मका काम गरिने वनको वैज्ञानिक व्यवस्थापन स्रोत व्यक्ति एवम् सहायक वन अधिकृत प्रमोद भट्टराईको भनाइ छ ।
वनको वैज्ञानिक व्यवस्थापनबाट वनको हैसियतमा सुधार, काठको आपूर्ति पूरा हुने, राजस्व सङ्कलनमा वृद्धि, स्थानीय तहमा रोजगारी सिर्जना हुने बताइएको छ ।
अहिले कैलाली, नवलपरासी, मोरङ, रूपन्देहीमा वन व्यवस्थापन कार्य सुरु गरिएको भए पनि पहिलो सफलता नवलपरासीले हासिल गरेको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution