पहिरोबाट विस्थापितका उद्धारमा सुरक्षाकर्मी खटिए

  • पोखरा न्यूज
  • २०७३ अषाढ १८
पहिरोबाट विस्थापितका उद्धारमा सुरक्षाकर्मी खटिए

पोखरान्युजडटकम, १८ असार –

दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा सात घरपरिवार विस्थापित भएका छन् । दार्चुलामा अहिलेसम्म दुई जनाको पहिरोमा परी मृत्यु हुनुका साथै एकजना घाइते भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिनुभयो ।

विस्थापितको सङ्ख्या धेरै रहेपनि प्रहरीमा हालसम्म यहाँका विभिन्न स्थानका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएको खबर आएको उहाँले बताउनुभयो। ‘विस्थापितलाई तत्कालका लागि राहत सामग्री पनि पढाएका छौँ ’ उहाँले भन्नुभयो । त्यसैगरी बिहीबारदेखि पहिरोका कारण अवरुद्ध रहेको बैतडी–दार्चुला सडकखण्डको अवरोध हटाउने कार्य पनि जारी रहेको छ ।

पहिरोको विस्थापित र जोखिम रहेका बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताइएको छ ।

पहिरोकै कारण दार्चुलाको जौैलजीवी प्रहरीचौकी भवनमा क्षति पुगेको छ । चौकीमा कार्यरत प्रहरी तथा बन्दोबस्तीका सामान सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हालसम्म प्राप्त खबर अनुसार दार्चुलाको शङ्करपुर, ग्वानी, भगवती, दत्तु, डाँडाकोट, सर्मोली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वरलगायतका गाविस पहिरोको चपेटामा परेको स्थानीय प्रशासनले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस