पोखरान्युजडटकम, १८ असार –
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण सित्तड– ६ स्थित खौलाबजार बाढीको जोखिममा रहेको छ ।
जिल्लाका विभिन्न ठाउँमा खम्बा तथा तार चुँडिदा विद्युत् सेवा पनि अवरुद्घ भएको छ । यस्तै ग्रामीण सडकमा ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्घ भई यातायात ठप्प भएको छ ।
स्थानीयवासी भूपेन्द्र भण्डारीका अनुसार खौलाबजारमा रहेका आठ पसल सनीगाड खोलाकोे जोखिममा छन् । यस्तै सित्तडकै पन्ज्युनयादेखि रिम जोड्ने बाटो भत्किँदा बाटो पूर्ण रुपमा अवरुद्घ भएको छ । सित्तड–६ खौलाबजार नजिकै घुकुतीवन छेउमा माथिबाट आएको पहिराले बाटो भत्काएको हो । जमाडी नदी किनारमा रहेको उक्त बाटो गत वर्ष सांसद् विकास कोषको रु सात लाख रकममा बनेको बताइएको छ ।
विकास कोषको रकमको सही तरिकाले प्रयोग नहुँदा यस्तो समस्या आइपरेको स्थानीयवासीको आरोप छ । मुख्य बजार पन्ज्युनया र गोकुलेश्वरसम्म जोड्ने उक्त बाटो भत्किँदा स्थानीयवासी तीन घन्टा लामो अर्को बाटो भएर हिँड्न बाध्य छन् ।
पन्ज्युनया रिम जोड्ने उक्त बाटो अवरुद्घ हँुदा रिम, सित्तड र गोकुलेश्वर गाविसका बासिन्दालाई समस्या भएको छ ।
गाँजरीमा एक विद्यालय भत्किएको छ । अविरल वर्षाका कारण शुक्रबार गाँजरी–८, सुगरखालस्थित केदार निमाविको नौकोठे भवनमध्येका चार कोठा भत्किएको स्थानीयवासी रोशन विष्टले जानकारी दिनुभयो । भवन भत्किँदा पठनपाठनमा समस्या हुने देखिएको छ ।
लगातारको वर्षाका कारण ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् । पाटन पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विप्याकटाल–ढुङ्गाड, ढोल्यामोड– हाट लगायत सडक पहिरो खसेपछि अवरुद्ध भएका हुन् ।
कतिपय सडकमा वर्षाले चिप्लो भएर गाडी गुडाउन नमिल्ने भएको यातायात व्यवसायीले बताएका छन् । पाटन पञ्चेश्वर सडकको एक दुई ठाउँमा पहिरो खसेकाले हटाउने काम सुरु भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।
सडक डिभिजन कार्यालयले जेसिभी डोजर लगाएर सडकको अवरोध हटाउने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कृष्ण धामीले जानकारी दिनुभयो । ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुलाई भने सास्ती भएको छ ।
यसैबीच लगातारको वर्षाले घरनजिक रहेको रुख ढल्दा पाटन नगरपालिका– १२ नौलदेउका रामदत्त पन्तका घरमा क्षति पुगेको छ भने गाईको एक बाच्छी मरेको छ ।
यस्तै अविरल वर्षापछि पहिराका कारण बिहीबार रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनःसञ्चालन भएको छ । बैतडीको सतबाँझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्ड अन्तर्गत पर्ने गोकुलेश्वर– १ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको राजमार्ग आज बिहानदेखि पुनःसञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
बागाबगरमा माथिबाट आएको पहिराका कारण अवरुद्ध सडकलाई सडक डिभिजन कार्यालय पाटनको जेसिभी डोजरले पहिरो पन्छ्याएको हो ।
राजमार्ग अवरुद्ध हँुदा यातायात पूर्ण रुपमा बन्द हँुदा यात्रु अलपत्र परेका थिए । सडक पुनःसञ्चालन भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतिर लागेका छन् । यातायातका साधन पूर्ण रुपमा बन्द हँुदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका थिए ।
सडक अवरुद्ध हुँदा काठमाडौँं, कञ्चनपुर, कैलाली, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारीसाधन चलेका छन् । सोही पहिराका कारण दुई घर पनि पुरिएका थिए ।
अविरल बर्षाका कारण बैतडीका विभिन्न खम्बा ढल्नाका साथै विभिन्न ठाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडीका माधवप्रसाद लेखकले मौसममा सुधार नआएकाले काम गर्न समस्या भएको बताउनुभयो ।
सतर्क रहन आग्रह
मौसम पूर्वानुमान महाशाखाले आज बैतडीलगायत पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएपछि सतर्क रहन प्रजिअ किशोरकुमार चौधरीले सबैमा आग्रह गर्नुभएको छ । वर्षात्मा हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरण गर्नका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । उहाँले भन्नुभयो“प्रत्येक प्रहरी युनिटलाई पनि अलर्ट रहन निर्देशन दिइएको छ ।”
गाविसमा रहेका स्थानीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय पारिएको छ । रासस