पोखरान्युजडटकम, १८ असार –
उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसीले पर्यटन क्षेत्रलाई सरकारले ध्यान दिन नसकेको बताउनुभएको छ ।
ओखरकोट पर्यटन ग्रामीण विकास समिति प्यूठानले यहाँ आज आयोजना गरेको ‘नेपालमा पर्यटन विकासको सम्भावना, समस्या र चुनौती’ विषयक अन्तक्र्रियामा बोल्दै उपप्रधानमन्त्री केसीले राजनीतिक दलका नेतामा पर्यटन क्षेत्रको विकास गर्नुभन्दा राजनीतिको चिन्ता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पर्यटनको ठूलो सम्भावना छ तर दलका नेतामा पर्यटनको विकासमा लाग्नुभन्दा राजनीति कसरी टिकाउने भन्ने चिन्तामा छन् ।” उपप्रधानमन्त्री केसीले नेपालमा भएको प्राकृतिक स्रोत साधनलाई प्रयोग गरी पर्यटनको विकास गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले लुकेका पर्यटन क्षेत्रको पहिचान गरी मुलुकलाई आर्थिक उन्नतिको बाटोमा अगाडि लैजानु आवश्यक रहेको बताउँदै मुलुकको प्राकृतिक, धार्मिक, सांस्कृतिकलगायतका क्षेत्रलाई जनतामाझ चिनाउनु जरुरी रहेको स्पष्ट पार्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री आनन्दप्रसाद पोखरेलले काठमाडौँमा बसेर ठूला होटल सञ्चालन गरेर मात्र पर्यटनको विकास हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनको विकास गर्ने हो भने होमस्टे (घरबास) को विकास गर्नु जरुरी छ ।” मन्त्री पोखरेलले नेपालको घरघर र गाउँगाउँ पर्यटकीय क्षेत्र भएकाले यसको विकास र विस्तारका लागि सरकार गम्भीर भएको स्पष्ट पार्नुभयो । उहाँले ग्रामीण पर्यटन विकासका लागि नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको बताउँदै प्राकृतिक, सांस्कृतिक, धार्मिक, कृषिलगायतको क्षेत्रको विकास भएमात्र पर्यटनको विकास हुने स्पष्ट पार्नुभयो ।
पर्यटनविज्ञ प्रा डा रुद्रप्रसाद रेग्मी, समितिका अध्यक्ष दुर्गा पौडेल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियालगायतले नेपालको पर्यटनको विकास ग्रामीण क्षेत्रबाट भएकाले ग्रामीण पर्यटनलाई सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा डा विश्वमोहन आचार्य र मोहनविक्रम सिंहले पर्यटनको विकास र विस्तारका लागि तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution