जलसतह र वर्षा मापन गर्न ‘डिस्प्ले बोर्ड’

  • पोखरा न्यूज
  • २०७३ अषाढ १९
Post Thumbnail

पोखरान्युजडटकम, १९ असार –

जिल्ला प्रशासन कार्यालय कैलालीमा स्थापना गरिएको वर्षा र नदीको जल सतह मापनबारेकोे सूचना दिने ‘डिस्प्ले बोर्ड’ पुनःसञ्चालनमा ल्याइएको छ ।

मनसुनी वर्षा सक्रिय भएसँगै यो बोर्ड सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आपत्कालीन कार्य सञ्चालन केन्द्रअन्तर्गत गत वर्ष स्थापना गरिएको यो ‘डिस्प्ले बोर्ड’ले बर्दिया र कैलालीको सीमा नदी कर्णालीमा पानीको सतह कुन समयमा के कति पुगेको छ भनेर देखाउने गर्दछ । वर्षायाममा मात्र यो बोर्ड सञ्चालनमा ल्याइने गरिएको छ । यसबाट नदी आसपासमा बस्ने बासिन्दालाई बाढी र डुबानको सम्भावित जोखिमबारे पूर्व सूचना दिने गरिएको छ ।

यस्तै जिल्लाको पहाडी क्षेत्रको निगाली गाविसमा स्थापना गरिएको स्वचालित वर्षा मापन केन्द्रमा रेकर्ड हुने वर्षाको मापन र मोहना नदीको जलसतहबारे ‘गेज रिडर’ कर्मचारीले एसएमएसमार्फत पठाउने मापनबारेको जानकारीका लागि पनि छुट्टाछुट्टै ‘डिस्प्ले बोर्ड’को व्यवस्था गरिएको छ ।

यद्यपि प्राविधिक समस्या उत्पन्न भएका कारण यी दुई बोर्ड भने शनिबारसम्म सक्रिय भइनसकेको केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक रामसिं ठगुन्नाले बताउनुभयो ।

स्थानीय समुदायलाई बाढी र डुबानबारेको पूर्व सूचना दिई यसबाट पुग्ने क्षति न्यूनीकरणमा टेवा पु¥याउन तीन वर्षअघिदेखि कैलालीमा पूर्व सूचना प्रणाली कार्यान्वयनमा रहेको छ । यसअन्तर्गत बाढी र डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रमा वर्षा मापन र जल मापनका लागि ‘गेज रिडर’ कर्मचारीको व्यवस्था गरिएको छ ।

माथिल्लो तटीय क्षेत्रमा कार्यरत गेज रिडरले दिने सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका समुदायलाई बाढी आउनु पूर्व सूचना दिएर क्षति न्यूनीकरणको पहल हुने भएकाले यो प्रणाली प्रभावकारी देखिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख राममणि मिश्रले बताउनुभयो ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकासहित लालाबोझी, भजनी, रतनपुर, हसुलिया, धनसिंपुर, नारायणपुर, थापापुर, पवेरा, बसौटी, फूलबारीलगायतका गाविस क्षेत्र डुबानबाट बढी प्रभावित क्षेत्रका रुपमा रहेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस