एक वर्ष भित्रमा पोखरामा नाटक घर

पोखरान्युजडटकम, १८ असार –

नाटककार कृष्ण उदासीले आफुलाई प्रयोग गरी पोखराको रगंमञ्चलाई सक्रिय बनाउन आग्रह गरेका छन् । पञ्चामृत नाट्य समुहको आयोजनामा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मलाई उपयोग हैन प्रयोग गर्नुहोस् म प्रयोग हुन तयार छुँ’ उनले भने । आफुले उपयोग गर्न खोज्नेहरुको साथ भने छोड्दै गएको उनले प्रष्ट पारे । पोखरामा नाटक घर नहुँदा समस्या हुने गरेको उनको गुनासो छ । ‘पोखरामा नाटकघर नहुँदा नाटक देखाउन कठिनाइ भएको छ’ उनले सुनाए । पञ्चामृत नाट्य समुहको आयोजनामा गत बैशाखमा पोखरा उद्योग वाणीज्य संघमा मञ्चन भएको नाटक पुलिस र प्यासबाट प्राप्त दर्शक तथा शुभचिन्तकको मायाले अगाडि बढ्न हौसीएको उनको भनाइ थियो । ‘युवालाई अवसर दिन सक्ने हो भने पोखरेली नाट्य क्षेत्रको भविष्य उज्वल छ’ उनले प्रष्ट पारे । आगामी भदौमा मञ्चन हुने नाटक ‘मौसम हराएको देश’ मा अघिल्लो नाटक पुलिस र प्यासमा देखिएका कमजोरी दोहोरीन नदिने प्रतिबद्धता उनको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै समुहका अध्यक्ष परिवर्तनले एक वर्ष भित्रमा पोखरामा नाटक घर निर्माण गर्ने दावी गरे । ‘नाटक पुलिस र प्यास मञ्चन गर्छौ भन्दा पनि सूरुमा केहि साथीलाई विश्वास गर्न गाह्रो भएको थियो, तर हामीले अपार दर्शकको भिँडमा मञ्चन गरेर देखादियौ, अब आज म तपाइ सबैलाई साक्षी राखेर वाचा गर्छु एक वर्ष भित्रमा पोखरामा नाटक घर निर्माण गर्छौ’ उनले प्रष्ट पारे ।

कार्यक्रममा गण्डकी टेलिभिजनका स्टेशन म्यानेजर अपिल त्रिपाठी, प्रगतीशिल लेखक संघ कास्कीका अध्यक्ष भिम रानाभाट, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, समुहका उपाध्यक्ष सितला अधिकारी, सचिव सवु पाठक, क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतिक, तालिममा सहभागी प्रेम केसी, लगायतले पोखरेली नाट्रय क्षेत्रको भविष्य उज्जवल रहेको बताएका थिए ।

कार्यक्रममा पञ्चामृत नाट्य समुहले यस अगाडि मञ्चन गरेको नाटक पुलिस र प्यासका कलाकार, सहयोगदातालाई धन्यवाद तथा आगामी भदौमा मञ्चन हुने नाटक मौसम हराएका देशको घोषणा गरिएको थियो । यसैगरी समुहको आयोजनामा असार १० गतेबाट १७ गतेसम्म भएको कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो ।

यसैबिच कार्यशालामा सहभागी मध्येबाट छनोट गरी नाटक मौसम हराएको देशमा अवसर दिइने कार्यक्रम संयोजक परिवर्तनले जानकारी दिए ।पञ्चामृत नाट्य समुह पोखराको आयोजनामा मञ्चन हुने नाटकको लेखन निर्देशनको जिम्मा कृष्ण उदासीले पाएका छन् । नाटकको मञ्चन भने आगामी भाद्र ९, १० र ११ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुनेछ । यो उदासीको १ सय ४ औ नाटक हो । यसअघि उदासीले १ सय ३ वटा नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । कार्यशालामा सहजकिरण नाटककार कृष्ण उदासी, मिलन प्रतिक र योग गुरु कोमल आनन्दले गरेका छन् ।

पोखरामा स्तरिय नाटकको मञ्चन वि. स. २००६ तिरबाट शुरु भएको पाइन्छ । वि.स. २०२० सालसम्म पोखराको रङ्गक्षेत्र अनियमितता जस्तो देखिएपनि २०३० साल पछि भने यो क्षेत्रको विकासले गति लिएको थियो । यहि समयमा रङ्गक्षेत्रसँग सम्बन्धित दर्जनौ सस्थाको स्थापना भइ पोखरेली रङ्गक्षेत्रको महत्व नेपाली रङ्गमञ्चको क्षेत्रमा हुन पुगेको थियो । पछिल्ला समयमा यो क्षेत्रमा नयाँ युवाहरुको सक्रियता बढ्न थालेको छ । यसरी भएकोे सक्रियताले पोखरेली नाट्य क्षेत्रमा आशा थपिदिएको छ । पञ्चामृत नाट्य समुहको स्थापना वि.स.२०६८ मा भएको हो । नाटकको रिर्यसल यहि असार २२ गतेबाट पोखरामा हुने संयोजक परिवर्तनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button