चामभन्ज्याङ खानेपानी परियोजना सुरु

  • पोखरा न्यूज
  • २०७३ अषाढ १९
चामभन्ज्याङ खानेपानी परियोजना सुरु

पोखरान्युजडटकम, १९ असार –

स्थानीयवासी सङ्गीता धमलाले करिब चार किमी टाढा बाँसपानीदेखि पानी बोकेर खानेपानीको जोह गर्दै आउनुभएको छ । उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यहाँका गृहिणीले टाढाबाट पानी बोक्नुपर्ने नियति नै बनेको छ ।

यहाँका जनप्रतिनिधिले खानेपानीको व्यवस्थापनलाई प्राथमिकतामा राख्न नसक्दा स्थानीयवासीले पानी बोकेर घरपरिवारलाई खुवाउनु परेकामा धमलाले गुनासो गर्नुभयो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको चामभन्ज्याङ खानेपानी परियोजना सुरु भएपछि खानेपानीको असुविधा भोग्दै आएका गाउँलेले अब घरआँगनमा नै पानी पाउने आशा रोखेका छन् ।

उक्त खानेपानी परियोजनाको लागत रु एक करोड ७८ लाख छ । करिब एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाबाट १५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् । धादिङको एउटा पर्यटकीय क्षेत्रका रुपमा ज्यामरुङ परिचित छ । यहाँ नौ वडा छन् । त्यसमध्ये चामभन्ज्याङ वडा नं ८ मा पर्छ । गत वर्ष आएको भूकम्पले नजिकका पानीका स्रोत कुवा, पँधेरोसमेत सुकाइदिएको छ ।

पत्रकार ऋषि धमलाको सक्रियतामा सो परियोजनाको यही असार १७ गते ६० हजार लिको ट्यांकी शिलान्यास भएपछि स्थानीयवासी उत्साहित भएका छन् । अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदा समेत नेपालका लागि भारतीय राजदूत रणजित रायले एक घन्टाको उकालो पैदल हिँडेर परियोजनाको शिलान्यास गर्नुभयो ।

सो अवसरमा राजदूत रायले भारत सरकार नेपालको तीव्र विकासका लागि भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्राम विशेष सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषगरी स्थानीयवासी महिला दिनहुँजसो पानी सकी÷नसकी टाढाबाट बोक्नुपर्ने बाध्यताको अन्त्य हुने भएकामा खुसी भएका छन् । वडा नागरिक मञ्चका संयोजक उषा श्रेष्ठले अब त्यस क्षेत्रको सरसफाइ गरी स्वस्थ्य हुन पाउने बताउनुभयो ।

त्यस्तै स्थानीयवासी लक्ष्मी सेन ठकुरीले खानेपानीको अति आवश्यक रहेको स्थान चामभन्ज्याङमा सहयोग गरेर दाताले पुण्य कमाएको विचार व्यक्त गर्नुभयो । स्थानीय बासिन्दाले राजदूतलाई गोलाभन्ज्याङ, सिम्लेदेखि टोड्केभन्ज्याङको सडक पिच गर्न र ज्यामरुङस्थित भूकम्पले क्षतिग्रस्त शङ्कादेवी उमाविको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराएका थिए । ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, सार्की, दमाईं लगायत जातिको बसोबास भएको उक्त स्थानमा सांसद राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बुर्लाकोटी र परशुराम तामाङले विकास निर्माणमा स्थानीयवासी एकताबद्ध भई अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस