शिक्षामा नयाँ क्रान्तिको आवश्यकता – मन्त्री पोखरेल

पोखरान्युजडटकम, १९ असार –

समृद्ध राष्ट्र निर्माणका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्ययकता रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शिक्षा विधेयक प्रमाणीकरणको अवसरमा महोत्तरीको बर्दिवासमा आज आयोजित अन्तक्र्रियात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा नयाँ क्रान्तिको नेतृत्व विद्यालयका शिक्षकले गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले विद्यालयलाई जागिर पकाउने स्थलको रुपमा नलिई समाजलाई परिवर्तन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको ठहर छ ।

मन्त्री पोखरेलले भन्नुभयो, “शैक्षिक प्रशासन विद्यालय सञ्चालनका लागि प्रमुख छ । त्यसैले विद्यालयमा शौचालय, सुरक्षा, पुस्तकालय जस्ता पूर्वाधार निर्माण गर्नुपर्छ ।” उच्च शिक्षा पढ्न चाहनेलाई प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने व्यवस्था शिक्षा विधेयकमा उल्लेख रहेको मन्त्री पोखरेलको कथन थियो । दुई तिहाइ अभिभावकको सहमति बिना निजी विद्यालयले शुल्क बढाउन नपाउने व्यवस्था नयाँ विधेयकमा रहेको बताउँदै महोत्तरी क्षेत्र नं १ का सांसदसमेत रहनुभएका मन्त्री पोखरेलले कम्पनी ऐन अन्तर्गत स्थापित विद्यालयलाई गुठीमा आउन सर्वजनिक अपिल पनि गर्नुभयो ।

मावि र उच्च माविमा हाल २३ हजार शिक्षकको आवश्यकता रहेको बताउँदै अर्थ मन्त्रालयसँग बजेट माग गरेर दरबन्दी खुलाउन आफू लागिपरेको समेत मन्त्री पोखरेलले दाबी गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “४० हजार राहत र १५ हजार अस्थायी कार्यरत रहेका शिक्षकलाई खुल्ला प्रतिस्पर्धाबाट स्थायी हुने ऐनले बाटो खुल्ला गरेको छ ।”

“राहत शिक्षकलाई सात वर्षभित्र दरबन्दी मिलान गर्दै र ५० वर्ष पुगेका शिक्षकलाई स्वेच्छिक अवकासको व्यवस्था गर्न लागि परेको छु,” उहाँले भन्नुभयो, “३४ हजार बालविकासमा कार्यरत शिक्षिकालाई अन्तर्राष्ट्रिय श्रमको कानुनअनुसार रु तीन हजारबाट वृद्धि गरी तलब रु ६ हजार पु¥याउने सरकारले नीति लिएको छ ।” शिक्षा सम्बन्धी अफवाहलाई भरखरै प्रमाणीकरण भएको शिक्षा विधेयकले चिरेको मन्त्री पोखरेलले दाबी गर्नुभयो ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका निर्देशक दिनेश श्रेष्ठ, महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक जनक भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा, सिन्धुली, रौतहट, बाराका जिल्ला शिक्षा अधिकारीसहित शिक्षकको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button