ईञ्जिनियरिङ र विज्ञान बिषयको अध्ययनबाट बन्चित राजनद्धारा रोवर्ट निमार्ण

पोखरान्युजडटकम, १९ असार –

खाने मुखलाई जुँगाले छेक्दैन भने झै कुनै व्यक्तिले चाहेको खण्डमा कुनै पनि काम ढिलो चाँडो गर्न सकिन्छ । यसैलाई चरीतार्थ पारेका छन पर्वत भोक्सिङ वडा नम्बर ६ का राजन गुरुङले ।

राजनले २०६९ सालमा एसएलसी उर्तिण गरेपछि ईञ्जिनियरिङ र विज्ञान अध्ययनको प्रयास गरे । तर अध्ययन गर्न नपाएको झोकमा उनले हाल विभिन्न प्रकारका एक दर्जन भन्दा बढी रोवर्टहरु निमार्ण गरेका छन । आर्थिक अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित भएको कारण अवसर पाए जे पनि गर्न सकिन्छ भन्ने सन्देस दिन पनि उनले सवैलाई अचम्म पार्दै सेन्सर तोप, मानवरहित ड्रोन, उड्ने र गुड्ने एउटै कार, ईलेक्ट्रिक बर्थ डे क्यान्डल, ईलेक्ट्रिक केवलकार, ईलेक्ट्रिक सेल्फी मेसिन, मार्वल प्ले डिभाईस, सेन्सरबाट सञ्चालित धनुश वाण, सेन्सरबाट सञ्चालित म्यूजिक सिष्टम, ईलेक्ट्रिक डाइनोसर, ईलेक्ट्रिक फट्याङ्ग्रा, ईलेक्ट्रिक स्नेक लगायतका रोबोट तथा मेसिनहरु आविश्कार गरेका हुन् । उनले बनाएका अविष्कारहरु आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुका साथै सबै अविष्कारको डेमो समेत प्रदर्शन गरी पत्रकारहरुले सोधेको प्रश्नको जिज्ञासा मेटाएका थिए । उनी यसै बर्षदेखी एघार कक्षामा भर्ना भएका छन् । उनलाई पोखराको बालोदय उच्च माविले ७५ प्रतिशत छुटमा अध्ययनको अवसर दिएको हो ।

rajan gurung 2

पानी घट्टबाट मेसिन सहित रोवर्टको यात्रा सुरु गरेका उनले बनाएका मध्ये सेन्सर तोप सबैभन्दा महत्वको रहेको उनका विज्ञान शिक्षक शिव ढकालले बताए । पत्रकार सम्मेलनमा तोप पड्काएर देखाइएको थियो । राजनले भविष्यमा आफू ठूलो वैज्ञानिक बन्न चाहेको बताए । सरकाले साधन श्रोत उपलब्ध गराएमा आफूले सेन्सरबाट चल्ने फाइटर विमान, पानीबाट चल्ने ठूलठूला मेसिन बनाउन सक्ने दाबी गरे । अहिले डेमोका लागि खेलौना जस्तो सामान बनाएपनि साधन र श्रोत पाउने हो भने साँच्चिकैको ड्रोन, मेसिन, विमानलगायतका अत्याधुनिक हतियार बनाउन आफू सक्षम रहेको उनको भनाई छ । तर राज्यले चासो नदेखाएर आफूलाई निराश पारेको उनले गुनासो गरे ।

सो तोप पड्केको आवाजले स्थानिय केहीबेर अनयौलमा परेका थिए भने करीब २ सय मिटर नजिकै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीको समेत ध्यानआकषर्ण भएको थियो । तत्कालै प्रहरीले के भएको हो भन्दै सोधपुछ गर्दै पत्रकार सम्मेलन स्थलसम्म सोधपुछ गरेका थिए ।

rajan gurung 3

तोप मात्रै हैन उनले त्यस्तै सेन्सरबाट चल्ने मानवरहित ड्रोन, धनुश वाणसहित म्यूजिक सिष्टम, स्नेक र डाईनोसर पनि प्रदशन गरेका छन् । दुई डिभाईसबीच कुनै कनेक्सन बिना भुईंमा राखिएको डिभाईस माथी हत्केला राख्दा आफै सञ्चालन हुने ड्रोन करीब ४ सय मिटर माथीसम्म उड्ने राजनले दाबी गरे । डेमो प्रदर्शनमा उनले करीब ५-७ मिटर माथीसम्म ड्रोन उडाएर प्रदर्शन गरे । उनले अन्य सबै डेमोहरु परिक्षण समेत गरेर देखाएका थिए । उनले यी सबै अविष्कार गर्न करीब ३ महिना लागेको बताए ।

बाँस, काठ, फलाम, तार, व्याट्री, ईलेक्ट्रिक मोटर, सुपर ग्लु लगायतका सामग्रीको सहायतामा मेसिन तथा रोबोट बनाउने गरेको उनले बताए । जागिर र अविष्कारका लागि आफू राती ३ घण्टा मात्रै सुत्ने गरेको उनले सुनाए । विपन्न परिवारका युवा वैज्ञानिक राजन हाल पोखराको रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत छन् । उनले त्यहाँबाट मासिक ५ हजार तलब बुझ्ने गरेको बताए ।

बुबा किसान गुरुङ र आमा टपीसरा गुरुङको चार सन्तान मध्येका एक हुन् उनी । बुबा सामान्य सिकर्मी हुन् भने आमा दिर्घ रोगी छिन् । राजन सानैदेखी चकचके स्वाभावका थिए । उनले सानो छँदा घरको रेडियो बिगार्दै बनाउँदै गर्थे । अध्ययनको क्रममा विज्ञान शिक्षक शिव ढकालसँग भेट भएपछि उनको नयाँ अविष्कार गर्ने सपनाले हुर्कने मौका पायो । उनले आईतबार प्रदर्शन गरेबाहेक अन्य एक दर्जन बढी अविष्कार घरमा थन्किएर रहेको शिक्षक ढकालले जनाए ।

हालसम्म कतैबाट पनि सहयोग नपाएको उनले गुनासो गरे । तत्कालिन शिक्षामन्त्री चित्रलेखा यादव पर्वत आएका बेला उनले एउटा डेमो प्रदर्शन गर्ने अवसर पाएका थिए । सोहीबेला मन्त्री यादवले उच्च शिक्षा अध्ययनको व्यवस्था गरिदिने भन्दै उनलाई काठमाडौं आएर आफूलाई सम्पर्क गर्न भनेकी थिईन् । उनी सोही आशामा काठमाडौं पुगे । तर मन्त्री यादवका सहयोगीले एसएलसीमा राम्रो प्रतिशत नआएको भन्दै विज्ञान वा ईञ्जिनियरिङ्ग अध्ययन गर्न नमिल्ने भन्दै फर्काईदिएको राजनले निराश हुँदै गुनासो गरे । एसएलसीमा ५२ प्रतिशत ल्याएका उनलाई मन्त्रीले त्यसै फर्काएपछि आर्थिक अभावका कारण उनले अध्ययनलाई थप बढाउन सकेनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button