मनसुन पूर्वतयारी योजनामा १२ करोड

काठमाडौँ, २१ असार –

नेपाल रेडक्रस सोसाइटीले सरकारसितको समन्वयमा मनसुन पूर्वतयारी योजना–२०७३ लाई कार्यान्वयनमा ल्याएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सम्भावित बाढी, पहिरोजस्ता विपद्को सामना गर्न सोसाइटीले पूर्वतयारी कार्ययोजना तयार गरी कार्यान्वयन गर्न आफू मातहतका सबै जिल्ला शाखा कार्यालय निर्देशन दिएको छ । हाल सोसाइटीका सबै जिल्लामा जिल्ला शाखा रहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असार १ गतेदेखि यस वर्षको मनसुन सुरु भएको थियो । गृहमन्त्रालयले वैशाख १ गतेदेखि हालसम्म बाढी पहिरोबाट ३२ को मृत्यु, १५ बेपत्ता, ४८ जना घाइते, १०४ घर पूर्ण क्षति र १५७ घर आंशिक क्षति भएको जनाएको छ । यसैगरी, चट्याङबाट ६२ को मृत्यु, १३६ जना घाइते, तीन घर क्षति र सात घरमा आंशिक क्षति भएको छ ।

मनसुनमा हुनसक्ने जल उत्पन्न विपद् ९बाढी पहिरो० सामना गर्न मनसुन पूर्वतयारी योजनालाई सोसाइटीले कार्यान्वयनमा ल्याएको हो । सो योजनाले विशेष रुपमा बाढीको जोखिम भनिएका १० जिल्ला र भूकम्पबाट बढी क्षति पुगेका १४ जिल्लालाई विशेष सम्बोधन गरेको छ । “३० हजार परिवारलाई खाद्य सामग्री, ५९ हजार त्रिपाल, एक हजार सेल्टर कीट, आवश्यक कम्बल, टारपोलिन, भाडाकुँडा, महिलाले लगाउने धोती, सारी, साधारण कपडा, प्रिन्ट कपडा तयारी अवस्थामा राखेका छौँ ।” सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले भन्नुभयो ।

उसो त सोसाइटीले तत्काल पाँच हजार परिवारलाई पुग्ने खानेपानी स्वच्छता कीट, शाखा कार्यालयअन्तर्गतका १४ हजार प्राथमिक उपचार, आपत्कालीन आवास व्यवस्थापन समूह, विपद् प्रतिकार्यका लागि सामुदायिक पहल समूह, जिल्ला विपद् प्रतिकार्य समूह, आपत्कालीन जनस्वास्थ्य प्रतिकार्य समूह, शव व्यवस्थापन समूहलाई पनि तयारी अवस्थामा राखेको छ ।

मनसुनको समयमा जलउत्पन्न विपद्लाई ध्यानमा राखि प्रभावकारी प्रतिकार्य गर्न सोसाइटीले उच्च महत्व र प्राथमिकताका साथ सबै जिल्ला शाखालाई तयारी अवस्थामा राखिएको जानकारी कार्यकारी निर्देशक केसीले दिनुभयो । उहाँले सामग्रीको भण्डारण लेखाजोखा, आपत्कालीन कोषको व्यवस्था र सोसाइटी र सरकारी निकायबीचको समन्वय गर्न संयन्त्रको स्थापना भएको पनि जानकारी दिनुभयो ।

सोसाइटीले बर्सेनि ४० लाखभन्दा बढी जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा मानवीय सहयोग गर्दै आएको छ । गत वर्ष गएको अकल्पनीय भूकम्पपश्चात् खोज, उद्धार तथा राहत वितरण र हाल पुनःनिर्माणमा उसले अनुकरणीय योगदान दिइराखेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा सोसाइटीले पुनःनिर्माणअन्तर्गत छ हजार घर निर्माण कार्यमा सहयोग गरिरहेको छ । यसका साथै स्थानीय समुदायका आयआर्जन अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेको सोसाइटीले जनाएको छ ।

पूर्वयोजनामा जल तथा मौसम विज्ञान विभागबाट मौसम पूर्व सूचना लिई जिल्लामा पठाउने, बाढी पहिरो तथा डुबानको जोखिममा रहेका बस्तीको पहिचान गरी पूर्वसूचना दिने र सुरक्षित रहन सूचना प्रवाह गर्ने रहेका छन् । यसका लागि सोसाइटीले मोबाइल फोनमा आधारित रही पूर्वसूचनाको प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ ।

हाल गृहमन्त्रालय, विपद् व्यवस्थापन महाशाखा र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले विपद्को सूचना सङ्कलन तथा राहत र उद्धार कार्यमा जिल्ला प्रशासन कार्यालयलाई परिचालन गर्ने गर्दछ ।

विपद् पूर्वतयारी योजनाका लागि सोसाइटीले रु ११ करोड ७३ लाख २१ हजार ३३० रकम विनियोजन समेत गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।

काठमाडौँ, विराटनगर, वीरगन्ज, नेपालगन्ज, पोखरा, भैरहवा, महेन्द्रनगर जस्ता प्रमुख सहरमा सोसाइटीले आवश्यक सामग्री भण्डार गरेको राखेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button