पर्यटकीय गन्तव्य बन्दै अमरगढी किल्ला

  • पोखरा न्यूज
  • २०७३ अषाढ २१
पर्यटकीय गन्तव्य बन्दै अमरगढी किल्ला

 

पोखरान्युजडटकम, २१ असार –

सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी दिनुभयो । समुद्री सतहबाट छ हजार ५०० फिटको उँचाइमा रहेको अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना खटिदै आएको छ । नगरपालिकाले निर्णय गरी उक्त किलला सर्वसाधारणका लागि खुला गरेको छ ।

अहिले दैनिक ३० देखि ४० जना आन्तरिक र बाह्य पर्यटक किल्ला अवलोकनका लागि आउने गरेका किल्लाका व्यवस्थापक प्रेम ऐरले बताउनुभयो । ऐतिहासिक गौरव बोकेको उक्त किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा रहेको पर्यटन व्यवसायी तथा भ्यूटावर होटलका सञ्चालक सुदाम थापा बताउनुहुन्छ । ठूलठूला ढुङ्गाद्वारा निर्माण गरिएको किल्ला निकै कलात्मक रहेको छ ।

अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक रुपमा छुट्टै महत्व रहेको छ । डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाई उक्त किल्ला नै बन्ने गरेको ‘गाउँघर’ दैनिक पत्रिकाकी सम्पादक बन्दना बम बताउनुहुुन्छ । “अमरगढी किल्लाभित्र रहेका पुराना र ऐतिहासिक हतियार, तोप र अन्य सामग्रीलाई राखेर सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

किल्ला हेर्न आउने सर्वसाधारणबाट रु ५० र विद्यार्थीलाई रु २० प्रवेश शुल्क लगाइएको अमरगढी नगरपालिकाले जनाएको छ । किल्ला बाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोटलगायतका क्षेत्रको प्रवद्र्धन गर्न सके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस