साहित्यकार झमक निर्भीक – प्रम ओली

काठमाडौँ, २१ असार –

प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरे निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले साहित्यकार झमक घिमिरेको ३५औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गर्नुभएको छ, जे देख्नु र भोग्नुभएको छ, त्यही लेख्नुभएको छ भन्नुभयो ।

साहित्यकार घिमिरेका कृतिहरु यथार्थ साहित्यको धरातलबाट आएको देखिएको छ भन्दै उहाँले थप्नुभयो – “कृतिमा कसैलाई पछ्याएर लेखिएको छैन, भ्रममा परेर लेखिएको छैन, बहकिएको छैन, अनुभव गरेको र देखेको कुरा निष्ठापूर्वक लेखिएको छ ।” प्रधानमन्त्रीले उहाँका कृति मानवजाति, सत्य र निष्ठाप्रतिको समर्पण भएको बताउनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारिधि प्रदान गर्न लागेको प्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “साहित्यकार घिमिरेले कुनै विद्यालय र विश्वविद्यालयमा लेखपढ त गर्नुभएन तर उहाँको अद्भुत क्षमताका कारण उहाँलाई विद्यावारिधि प्रदान गरिँदैछ ।” जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँले उहाँको स्वास्थ्योपचारका लागि नेपालको चिकित्सा क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै आवश्यक आर्थिक सहयोग सरकारले दिनेछ भन्नुभयो ।

सरकारले साहित्यकार घिमिरेलाई रु पाँच लाख उपचार खर्च दिने निर्णय समेत यसअघि गरिसकेको छ । साथै धनकुटा निवासी उहाँलाई स्वास्थ्योपचारका लागि आउन जान कठिनाइ हुने हुँदा घर निर्माणका लागि काठमाडौँमा जग्गा समेत उपलब्ध गराइसकेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साहित्यकार घिमिरेको १३औँ कृतिका रुपमा ‘प्रेमिल आकाश’ (कवितासङ्ग्रह), मदन पुरस्कार पाउन सफल ‘जीवन फूल कि काँडा’ (हिन्दी संस्करण) र सोही कृतिको चलचित्र अडियो क्यासेटको समेत सार्वजनिक गर्नुभएको थियो ।

साहित्यकार घिमिरेको जीवनमा आधारित भएर चलचित्र निर्माण हुन लागेको छ । सो चलचित्रको दार्जिलिङ निवासी विनोद विष्टले निर्देशन गर्नुहुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button