नदी कटानले दुईसय घर उच्च जोखिममा

 

चौतारा, २२ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara

चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् ।

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ । तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ । पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पुरयाउन सक्ने प्रनि भुसालले बताउनुभयो ।

बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।

बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पुरयाएपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ । त्यसैगरी तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर बगाएको छ । जम्बोस्थित अरनिको राजमार्गको ५० मिटर सडक कटान गरेको र ठाउँठाउँमा पहिरोले क्षति पुरयाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभएको छ ।

गएराति १० बजे एक्कासि नदीको वहाब बढ्न गएकोले बाह्रबिसेमा रहेको कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको छ ।

त्यस्तै बाह्रबिसेको मोटर ग्यारेजबाट टाटासुमो एक र जिप एकसमेत बगाएको छ । हालसम्म मानवीय क्षति नभएको र भोटेकोसी नदीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब डेढ मिटर जति बढिरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

  1. घर त सबै झुन्डेका छन् बिचराहरु कहापो बस्ने हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button