चौतारा, २२ असार –
चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् ।
तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ । तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ । पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पुरयाउन सक्ने प्रनि भुसालले बताउनुभयो ।
बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।
बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पुरयाएपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ । त्यसैगरी तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर बगाएको छ । जम्बोस्थित अरनिको राजमार्गको ५० मिटर सडक कटान गरेको र ठाउँठाउँमा पहिरोले क्षति पुरयाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभएको छ ।
गएराति १० बजे एक्कासि नदीको वहाब बढ्न गएकोले बाह्रबिसेमा रहेको कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको छ ।
त्यस्तै बाह्रबिसेको मोटर ग्यारेजबाट टाटासुमो एक र जिप एकसमेत बगाएको छ । हालसम्म मानवीय क्षति नभएको र भोटेकोसी नदीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब डेढ मिटर जति बढिरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution