बागलुङ, २२ असार –
जिल्लाको देवीस्थानस्थित लेवाङ खोलामा मङ्गलबार आएको बाढीले तीन घर र दुई झोलुङ्गे पुल बगाएको छ । बाढीबाट देवीस्थान –१ का हुमबहादुर गुरुङ, जीतबहादुर कुँवर र सुब्बासिंह सुनारको घर पूर्णरुपमा क्षति भएको छ ।
देवीस्थान –४ मा रहेको लेवाङ–हर्पे जोड्ने र देवीस्थान–७ मा रहेको जुगाखोला–पल्लो बिङ्लीखोला जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै देवीस्थापन–४ मा गएको पहिरोले लेवाङ खोलामा बाढी आएको थियो । बाढीले भौतिक सम्पत्ति र पशु चौपायाको क्षति भए पनि कुनै मानवीय क्षति नभएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रमुख शिव क्षेत्रीले बताउनुभयो । उद्धारपछि घर गुमाएका परिवारलाई सुरक्षित स्थलमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । घटनास्थल आसपासका थप १० घर पहिरोको जोखिममा रहेको प्रमुख क्षेत्रीले बताउनुभयो ।
बाढीका कारण १६ खसी र एक सयभन्दा बढी कुखुरा मरेको जनाइएको छ । क्षतिको सम्पूर्ण लगत सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ । बाढीले देवीस्थान वडा नं ३ र ४ मा सञ्चालित २९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।
आयोजनाको विद्युत् गृहमा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको स्थानीयवासी तमबहादुर कुँवरले बताउनुभयो । आयोजना बन्द भएपछि त्यस क्षेत्रका सयौंँ घर अँध्यारोमा बस्न बाध्य छन् । सोही स्थानमा करिब दुईसय घरधुरीले उपभोग गर्दै आएको खानेपानी आयोजनाको ट्याङ्कीमा पनि क्षति पुगेको जनाइएको छ । एकै गाविसका दुई झोलङ्गे पुल बाढीले बगाएपछि सर्वसाधारणको आवातजावतमा समेत कठिनाइ भएको छ ।
प्रहरीले आवागमन सुचारु गर्न वैकल्पिक व्यवस्था गर्ने तयारी गरेको छ । स्थानीय जुग्जाखोला र देवीस्थान बजारका दर्जनभन्दा बढी घर बाढी पहिरोको जोखिममा रहेको जनाइएको छ । देवीस्थान र बोहरा गाउँको सयाँैं रोपनी क्षेत्रफलको खेतीयोग्य जमिनलाई बाढीले बगरमा परिणत गरेको स्थानीयवासीले बताएका छन् ।
पहिरोले देवीस्थान आसपासका क्षेत्रमा पनि क्षति पुरयाएको छ । बोहोरा गाउँ–७ थापागाउँमा पहिरोले गोठ भत्काउँदा दुई भैँंसी मरेको प्रहरीले जनाएको छ । सोही स्थानका केही घरमा पनि पहिरोले क्षति पुरयाएको छ । पहिरोकै कारण निशी–४ गुमाखोलामा रहेको निशी तेस्रो लघुजलविद्युत् आयोजनाको कुलो भत्किएको छ।
करिब १५ मिटर कुलो भत्केपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution