नेपालको आफ्नै भूग्रहको स्थापना गरिने – मन्त्री राई

काठमाडौँ, २२ असार –

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय प्रशासरण नीति, अनलाइन निर्देशिकालाई परिमार्जन समिति गठन गरिएको जानकारी दिँदै मन्त्रालयअन्तर्गतका निकायका व्यवस्थापन सुधार भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुटका लागि आवश्यक गृहकार्य अगाडि बढाएको जानकारी दिँदै सूचना तथा सञ्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिको संस्थागत क्षमता अभिवृद्धि गरिने, चलचित्रलाई गतिशील बनाइने, हुलाक सेवालाई थप व्यावसायिक बनाइने सुरक्षण मुद्रण समिति गठन गरिने, टेलिफोन सेवालाई विस्तार गरिने, २४० निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्री राईले सामुदायिक सूचना केन्द्र विस्तार गरिने, नेपाल टेलिकमको प्राविधिक सुधार तथा गुणस्तरमा ध्यान दिइने, राष्ट्रका लागि मेरो योगदानअन्तर्गत ‘मेरो कल मेरो सेयर’ को थालनी गरिने तथा भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा मर्मतलाई तीब्रता दिइने बताउनुभयो ।
आमसञ्चार नीति मन्त्रिपरिषद्मा पेस हुने अवस्थामा रहेको जानकारी दिँदै मन्त्री राईले सो नीतिले आमसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्र गर्नुभयो ।

मन्त्री राईको सो जवाफमाथि सांसद प्रेम सुवालले पूरक प्रश्न गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button