हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छ – मन्त्री चौधरी

काठमाडौँ, २२ असार –

स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत स्वास्थ्य मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गरी पठाइएको, अस्पतालमा औषधि र उपकारणको अभाव हुन दिन मन्त्रालय सचेत रहेको बताउनु भयो ।

मन्त्री चौधरीले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन सुरु गरिएको, अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको, थारु जातिमा देखिएको ‘सिकललेस’ रोग नियन्त्रण गर्न ध्यान दिइएको, सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम तीन वर्षभित्रमा सबै जिल्लामा लागू गरिने उल्लेख गर्नु भयो ।

मिर्गौलाका बिरामीलाई निःशुल्क डायलोसिस सेवा दिने, यसै आर्थिक वर्षदेखि बोनमेरो ट्रान्सप्लान्ट सेवा सुरु गर्न लागिएको, वीर अस्पताललाई केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नक्कली चिकित्सकमाथि छानबिन गर्ने क्रम जारी रहेको मन्त्री चौधरीले स्पष्ट पार्नुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button