काठमाडौँ, २२ असार –
आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनलाई प्रभावकारी बनाउन राज्य र नागरिक समाज दुबैको पनि सहयोग आवश्यक भएको बताउनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको पानी उद्योगकोे स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री पुनले आगामी दिन बजार अनुगमनलाई देशव्यापी बनाइने बताउनुभयो ।
उहाँले आफ्नो उत्पादनको नियमित प्रयोगशाला परीक्षण गर्न, उद्योगमा काम गर्दा पन्जा र टोपीको प्रयोग अनिवार्य गर्न र अन्य सरसफाइ व्यवस्थापनमा ध्यान दिन पनि पानी उद्योगीलाई निर्देशन दिनुभयो । मङ्गलबार बल्खु तरकारी बजारमा अनुगमनकर्तामाथि भएको आक्रमणका घटनाका दोषीमाथि कारबाही गरिने पनि मन्त्री पुनले बताउनुभयो ।
आज अनुगमनका क्रममा उक्त स्थानको आइसक्रिम उद्योग र पशुपति फुड्स उद्योगको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पशुपति फुड्सको कार्यस्थलमा झिँगा परेर दूषित देखिएका करिब दुई लिटर मिठाइ बनाउने घ्यू नष्ट गरिनाका साथै व्यवस्थापन चुस्त बनाउन र कार्यस्थलमा स्वच्छता कायम राख्न निर्देशन दिइएको थियो ।
आपूर्ति व्यवस्थापन उपभोक्ताहित संरक्षण समितिका निर्देशक लक्ष्मण श्रेष्ठले पशुपति फुड्सका श्रमिकलाई नियुक्तिपत्र दिन र उपभोक्ताको हितमा नियमसम्मत ढङ्गले उद्योग सञ्चालन गर्न सुझाव दिनुभएको थियो । उक्त उद्योग सञ्चालनसम्बन्धी कानुनी रुपमा कुनै कागजपत्र नदेखाएका कारण ती कागजपत्र तीन दिनभित्र लिएर आउन पनि उद्याग सञ्चालकलाई भनिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution