अतिआवश्यक मेड्रोनिडा झोलको अभाव

  • पोखरा न्यूज
  • २०७३ अषाढ २३
अतिआवश्यक मेड्रोनिडा झोलको अभाव

डोटी, २३ असार –

बर्सात सुरु भएसँगै देखिने विभिन्न प्रकारका सङ्क्रमण र बिरामीका लागि आवश्यक औषधिको सुदूरपश्चिममा अभाव देखिएको छ ।

बर्सातमा दूषित पानी पिउनाले हुनसक्ने आउँ, हैजा, पखालाजस्ता बिरामीका लागि अतिआवश्यक औषधि मेड्रोनिडा झोलको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

बर्खायाममा जुनसुकै समयमा फैलिन सक्ने महामारीलाई ध्यानमा राखी स्टोर गरिने औषधिको अभाव सिर्जना भएपछि सुदूरपश्चिममा समस्या देखिएकोे छ । छिटफुट मात्रामा केही ठाउँमा मेड्रोनिडा झोल, पियुसजस्ता औषधि भए तापनि आवश्यक परेको खण्डमा पर्याप्त मात्रामा नभएको जिल्ला अस्पताल डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासीले बताउनुभयो ।

डोटीको हकमा मेड्रोनिडा झोलको पूरै अभाव भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । जिल्लाका ग्रामीण भेकमा फैलिन सक्ने महामारीले जतिबेला पनि उग्ररुप लिएमा अस्पतालबाट यस्ता आवश्यक औषधि वितरणमा कठिनाइ हुने देखिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरालगायत जिल्लामा आवश्यक औषधि बेलैमा नपाएर धेरै बिरामीले सास्ती खेप्नु परेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस