फलेवास (पर्वत), २४ असार –
यहाँका एक द्वन्द्वपीडितले द्वन्द्वकालमा लुटिएको रकमको क्षतिपूर्तिको माग गरेका छन् ।
दक्षिण पर्वतको बेउलीवास गाविसका सचिव पुण्यप्रसाद काफ्लेले २०६१ साल साउन ३ गते तत्कालीन नेकपा (माओवादी)द्वारा लुटिएको रकमको क्षतिपूर्ति माग गर्नुभएको हो । बेउलीवास र उरामपोखरा गाविसमा कार्यरत रहँदा दुईवटा गाविसको विकास निर्माणको रकम भुक्तानीका लागि सदरमुकाम कुश्माबजार लिएर गएको नौ लाख ७५ हजार रुपैयाँ र महत्वपूर्ण कागजात माओवादी कार्यकर्ताले बाटोमा लुटेका थिए ।
करिब २० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले रकम लुटेर लगेको उहाँले बताउनुभयो । रकम लुटिएपछि २०६१ साल असोज ४ गते जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको भए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति र रकम फिर्ता नपाएको गुनासो गर्नुभयो । १२ वर्षसम्म उक्त रकमको क्षतिपूर्ति नपाउँदा आफू घरबारविहीन हुने अवस्थामा पुगेको उहाँको गुनासो छ ।
गाउँ विकास समितिको रकम भएपनि त्यसमा विभिन्न उपभोक्ता समिति, आमा समूह, लक्षित वर्गको रकम भएकाले आफूले ऋण खोजेर भुक्तान गरेको उहाँले बताउनुभयो । उहाँले भने लुटिएको रकम भुक्तान गर्नकै लागि आठ मुरी धान फल्ने जग्गा बिक्री गर्नुभयो तर अझै धेरै ऋण बाँकी रहेको छ ।
क्षतिपूर्तिका लागि गृह मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पुगेर पटक–पटक माग गर्दा पनि द्वन्द्वकालमा लुटिएको वा सम्पत्ति क्षति भएकालाई क्षतिपूर्तिस्वरुप रु १० हजार रुपैयाँ मात्रै दिने आश्वासन पाएपछि उक्त रकम आफूले नलिईकन फर्किएको काफ्लेले गुनासो गर्नुभयो ।
मुलुकमा शान्ति स्थापना भइसकेको पनि लामो समय भइसक्यो उहाँले भन्नुभयो मैले अझै न्याय पाउन सकेको छैन । मोटो रकम लुटिँदा पनि राज्यले आफुलाई वास्ता नगरेको भन्दै उहाँले मानवअधिकार आयोग, पत्रकार तथा जिल्ला विकास समितिले क्षतिपुर्तिका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
रकम मात्र लुटिने नभई पटक पटक अपहरण र यातना समेत दिने गरेको उहाँको दुःखेसो रहेको छ । अहिले उहाँ बेउलीवास गाउँ विकास समितिमा सचिबको रुपमा कार्यरत रहनुभएको छ । लामो समयदेखि सरकारी सेवामा कार्यरत रहँदा पनि आफुले राज्यबाट राहत पाउन नसकेको काफ्लेको भनाई छ । उहाँले तत्काल उक्त रकम फिर्ता वा क्षतिपुर्ति दिन सम्वन्धित राजनीतिक दल र राज्यसँग आग्रह गर्नुभयो ।
राज्यकै सेवामा रहँदा बिना कसुर लुटिनु र अपहरणमा पर्नु मानवअधिकार विपरितको कार्य भएको भन्दै यस्ता घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै आफ्नो रकम फिर्ता गर्न माग गर्नुभयो । उहाँले सदरमुकाम कुश्माबजारमा बुधबार पत्रकार सम्मेलन गरेर आफु विगत १२ वर्षदेखि पिडित बनेकाले लुटिएको रकमको क्षतिपुर्ती उपलव्ध गराईदिन माग गर्नुभएको हो । रासस





