पृथ्वीनारायण र भानुभक्तको योगदान बिर्सन नहुने

काठमाडौँ, २५ असार –

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले सांस्कृतिक र भाषिक एकीकरण गरेको इतिहास बिर्सन नहुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भानुभक्तको २०३औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको आदिकवि विशेष कवि गोष्ठी एवम् लोक साहित्य कार्यक्रममा साहित्यकार एवम् कलाकारले यस विषयमा जोड दिनुभएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा जीवेन्द्रदेव गिरीले आधुनिक नेपाल निर्माणका लागि संस्कृत साहित्यका कवि वाल्मीकिले लेख्नुभएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरणको काम गरेको बताउनुभयो । “पृथ्वीनारायणले भौगोलिक एकीकरण गरेको जगमा भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरण गर्नुभयो, यसलाई बिर्सने हो भने नेपाललाई नै बिर्सेसरह हुन्छ” – उहाँले भन्नुभयो ।

लोकगायक नन्दकृष्ण जोशीले राष्ट्रको भौगोलिक, सांस्कृतिक र भाषिक एकीकरणको इतिहासलाई मेटाउन खोज्नेले नेपालको अस्तित्व पनि मेटाउन सक्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रत्ननिधि रेग्मी, घनश्याम प्रसाईं, मेनका पोखरेल, विमल अर्याललगायत २२ जना कवि एवम् कवयित्रीले भानुभक्तले नेपाली भाषा संस्कृतिमा पुरयाएको योगदानसम्बन्धी कविता वाचन गर्नुभयो ।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button