काठमाडौँ, २५ असार –
पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले सांस्कृतिक र भाषिक एकीकरण गरेको इतिहास बिर्सन नहुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
भानुभक्तको २०३औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको आदिकवि विशेष कवि गोष्ठी एवम् लोक साहित्य कार्यक्रममा साहित्यकार एवम् कलाकारले यस विषयमा जोड दिनुभएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा जीवेन्द्रदेव गिरीले आधुनिक नेपाल निर्माणका लागि संस्कृत साहित्यका कवि वाल्मीकिले लेख्नुभएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरणको काम गरेको बताउनुभयो । “पृथ्वीनारायणले भौगोलिक एकीकरण गरेको जगमा भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरण गर्नुभयो, यसलाई बिर्सने हो भने नेपाललाई नै बिर्सेसरह हुन्छ” – उहाँले भन्नुभयो ।
लोकगायक नन्दकृष्ण जोशीले राष्ट्रको भौगोलिक, सांस्कृतिक र भाषिक एकीकरणको इतिहासलाई मेटाउन खोज्नेले नेपालको अस्तित्व पनि मेटाउन सक्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रत्ननिधि रेग्मी, घनश्याम प्रसाईं, मेनका पोखरेल, विमल अर्याललगायत २२ जना कवि एवम् कवयित्रीले भानुभक्तले नेपाली भाषा संस्कृतिमा पुरयाएको योगदानसम्बन्धी कविता वाचन गर्नुभयो ।
समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution