घुस खाने प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

काठमाडौँ, २६ असार –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक वीरेन्द्र कुसियतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्राविधिक सहायक कुसियतले राष्ट्रिय प्राथमिक विद्यालय, सप्तरीमा कार्यरत शिक्षक मनोजकुमार यादवसँग जिल्लान्तर सरुवा सहमति दिएबापत रु ४० हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

आयोगले आरोपी कुसियत उपर बिगो रु ४० हजार कायम गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै, आयोगले जिल्ला विकास समिति कार्यालय, कैलालीको विकास समितिअन्तर्गतको खरिदार पदमा कार्यरत गुनसिंह चौधरीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

चौधरीले दीपेन्द्र मावि कैलालीबाट २०४५ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button