‘क्रिकेटको घर’मा नेपालले खेल्न पाउनु सौभाग्य

काठमाडौँ, २६ असार –

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ‘क्रिकेटको घर’ नामले परिचित इङ्ग्ल्यान्डको लन्डनस्थित ‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य भएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज यहाँ आयोजित बिदाई कार्यक्रममा प्रशिक्षक टमाटाले भन्नुभयो, “बेलायतजस्तो देशको ऐतिहासिक मैदानमा खेल्न पाउनु नेपाली खेलाडीका लागि सुनौलो अवसर हो, त्यसैले हामीले त्यहाँ राम्रो खेल प्रदर्शन गरेर सबैको ध्यान आकृष्ट गर्नुपर्छ ।”

कप्तान खड्काले भन्नुभयो, “सायद त्यस्तो क्रिकेटको ऐतिहासिक ठाउँमा पहिलोपटक खेल्न पाउने एसोसिएट राष्ट्रमध्ये नेपाल नै पहिलो होला, त्यसैले हामीले यो समयको सदुपयोग गर्नुपर्छ ।” उहाँले यो पटक मौसमले पनि साथ दिएकाले राम्रो प्रदर्शनको आशा गरेको बताउनुभयो ।

हाल नेपाली टोली अगस्टमा नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुई खेलको तयारीमा छ । जसका लागि नेपालले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१) उसकै घरेलु मैदान (लड्स क्रिकेट मैदान)मा अभ्यास खेल खेल्ने अवसर पाएको हो । लड्स क्रिकेट मैदान संसारकै पुरानो क्रिकेट मैदानमा पर्छ ।

यसैबीच, नेपाली क्रिकेट टोली सोमबार बिहान इङ्ग्ल्यान्ड प्रस्थान गर्दैछ । इङ्ल्यान्ड यात्रा गर्ने टोलीमा १५ खेलाडी र तीन पदाधिकारी छन् । जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत इङ्ग्ल्यान्ड उड्नेछन् ।

त्यसैगरी प्रशिक्षक टमाटा, टेक्निकल एनालाइसिष्ट रमण सिवाकोटी र फिजियो दिनेश भट्ट पनि टोलीसँगै हुनेछन् ।

उनीहरुलाई आज यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले बिदाई गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button