निर्णय गर्नुअघि प्राज्ञको सल्लाह लिनुुपर्ने – प्रम ओली

काठमाडौँ, २६ असार –

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विषयमा निर्णय गर्नुअघि प्राज्ञको सल्लाह लिने परिपाटीलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका उहाँले आज कीर्तिपुरमा आयोजित ५७औँ त्रिवि सभालाई सम्बोधन गर्दै विदेशी मुलुकले सम्बन्धित विषयमा विज्ञसँग परामर्श गर्ने परिपाटीलाई हामीले पनि अपनाउनु आवश्यक भएको बताउनुभयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु २० करोड दिन सकिन्छ भने त्रिविविलाई दिन नसकिने होइन भन्दै उहाँले आवश्यक बजेटका लागि योजनासहितको प्रस्ताव पेस गर्न आग्रह गर्नुभयो ।

अन्य विश्वविद्यालयभन्दा यो विश्वविद्यालयको ल्याकत, क्षमता र क्षेत्राधिकार बढी भएकाले अन्य विश्वविद्यालयसँग तुलना हुन नसक्नेमा जोड दिँदै उहाँले यसको शैक्षिक विकासका लागि भौतिक सुधार, गुणस्तर वृद्धि र प्राविधिक सुधार हुनु आवश्यक छ भन्नुभयो ।

शिक्षामन्त्री तथा त्रिविविका सहकुलपति गिरिराजमणि पोख्रेलले छ दशक पुरानो त्रिविविले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यसले आफूसँग भएका जमिन, साधन र स्रोतको समुचित प्रयोगमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

pm oli 3

उच्च शिक्षा अध्ययनका लागि ऋण प्रदान गर्ने व्यवस्था गरिएको चर्चा गर्दै उहाँले सङ्घीयतामा गएपछि प्रदेशमा रहेका क्याम्पसलाई स्वायत्तता प्रदान गर्नुपर्ने, त्रिविविलाई अन्य विश्वविद्यालयको तुलनामा प्रतिस्पर्धी बनाइनुपर्ने र आङ्गिक क्याम्पसको सुधारका लागि अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो ।

त्रिविविका उपकुलपति प्रा डा तीर्थराज खनियाले भन्नुभयो, “यो विश्वविद्यालय ‘वल्र्डवाइड सर्भे रयाङ्किङमा’ चार हजार २४१औँ स्थानमा छ, हामी विश्वबाट अलग रहेर काम गर्न सक्दैनौँ त्यसैले समयसापेक्ष सुधार हुनु जरुरी छ ।”

आउँदो हिउँदे सत्रदेखि अन्य क्याम्पसमा सेमेष्टर प्रणाली विस्तार गरिने उल्लेख गर्दै उहाँले, प्रविधियुक्त शिक्षाको थालनी गरिएको, वाइफाइ र इ–लर्निङको व्यवस्था गरिएको, ओपन एन्ड डिस्ट्यान्स लर्निङ एजुकेसनको थालनी गरिएको इ–एडमिनिस्ट्रेसनको प्रयोगलाई प्रोत्साहित गरिएको बताउनुभयो ।

सभामा त्रिविविका रजिस्ट्रार डिल्लीराज उप्रेतीले पेस गर्नुभएको त्रिविवि कार्यकारी परिषद्को स्वायत्ततासम्बन्धी नियम–२०७२ मा जारी भएको आदेश र आव २०७३-०७४ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

pm oli 2

यसअघि प्रधानमन्त्री ओलीले त्रिविवि परिसरमा निर्माण गर्न लागिएको उपकुलपतिको कार्यालय भवनको शिलान्यास गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button