दुई खानेपानी उद्योगमा सिलबन्दी

  • पोखरा न्यूज
  • २०७३ अषाढ २७
दुई खानेपानी उद्योगमा सिलबन्दी

काठमाडौँ, २७ असार –

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियम विपरीत सञ्चालित राजधानीका दुई खानेपानी उद्योगमा सिलबन्दी गरेको छ ।

विभाग नेतृत्वको सरकारी टोलीले आज स्थलगत अनुगमनका क्रममा उद्योगमा फोहर र नियम विपरीत सञ्चालन भइआएको फेला पारेपछि ‘मातातीर्थ स्प्रिङ मिनरल वाटर एण्ड बेभरेज प्रालि’ र ‘स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्रालि’ मा सिलबन्दी गरेको हो ।

दुवै उद्योगमा फोहर देखिनाका साथै खानेपानी बोतलको बिर्कोमा हुनुपर्ने सिल नराखेको र दर्ताको आवश्यक कागजात राखिएको नभेटिएपछि सिल गरिएको विभागका अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो । ती उद्योगका सञ्चालकलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस