संवाद, सहमति र सहकार्यको बाटोमा अघि बढ्न अपिल गर्दछु – उपराष्ट्रपति पुन

काठमाडौँ, २८ असार –

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयन गर्ने राष्ट्रिय कार्यभार पूरा गर्न सबै राजनीतिक शक्तिलाई संवाद, सहमति र सहकार्यको बाटोमा अघि बढ्न अपिल गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल हज समितिद्वारा इदुल फित्र (इदु)को अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले राजनीतिक दलहरुबीच आपसी सहमति र सहकार्यको विकल्प छैन, यही नै आजको मुख्य आवश्यकता हो भन्नुभयो ।” नयाँ संविधान जारी भएसँगै अबको राष्ट्रिय कार्यभार भनेको संविधानको तीव्र कार्यान्वयन रहेको बताउँदै उपराष्ट्रति पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै जातजाति, भाषाभाषीको बलियो राष्ट्रिय एकता आवश्यक रहन्छ भन्नुभयो । नेपालको संविधानले सबै धर्म र संस्कृतिका नागरिकलाई आफ्नो धर्म संस्कृतिको संरक्षणको अधिकारको प्रत्याभूति गरेको जनाउँदै उहाँले राष्ट्रनिर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता उत्पीडित नेपाली समुदायको विशेषता भएको बताउनुभयो ।

नन्दबहादुर पुन 2

नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका जनताको हकअधिकार सुनिश्चित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली मुस्लिम समुदायको देशप्रेमको भावनालाई कसैले पनि प्रश्न उठाउन सक्दैन ।”

सोही पार्टीका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाली मुस्लिम समुदायको हकअधिकारको सुनिश्चित गर्न र धर्म संस्कृतिको विकास र विस्तारका लागि सरकारले सदैव सहयोग पुरयाउँदै आएको बताउनुभयो ।

संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाले बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक तथा भौगोगिक विविधतायुक्त विशेषता नेपाल र नेपालीको विशिष्ट पहिचान हुन् भन्नुभयो ।

नेपाल हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा नेपाली मुस्लिम समुदाय प्रतिबद्ध रहेको बताउँदै मुस्लिम समुदायले राष्ट्रियता र राष्ट्रिय एकीकरणका लागि ठूलो बलिदान दिएको इतिहास सुनाउनुभयो ।

हज यात्रा पूरा गरेर आएका हाजीको सम्मानमा पहिलोपटक नेपाल हज समितिले राजधानीमा शुभकामना कार्यक्रम आयोजना गरेको हो । यस वर्ष एक हजार २० जना नेपाली हाजीले मक्कामदिना पुगेर हज गरी फर्केका थिए ।

तराईको जनसङ्ख्याको १० प्रतिशत हिस्सा मुस्लिम समुदायको रहेको दाबी गरिएको छ । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको ४.४ अर्थात् ११ लाख ६४ हजार २५५ रहेको छ । नेपालको ७५ जिल्लामा मुस्लिम समुदायको बसोबास रहेको छ । व्यवस्थापिका–संसद्मा हाल १९ जना मुस्लिम सांसद रहनुभएको छ ।

समारोहमा उपराष्ट्रपति पुनले नेपाल हज समिति र हजयात्रा नामक पुस्तकको लोकार्पण गर्नुभएको थियो । समारोहमा विभिन्न राजनीतिक दलका नेता, सांसद, नेपालस्थित साउदी अरेबिया, कतारलगायत खाडी मुलुकका राजदूतहरु उपस्थित हुनुहुन्थ्यो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button