भानुभक्तको पूर्णकदको प्रतिमा अनावरण

पोखरा, २९ असार –

आदिकवि भानुभक्तको २०३औँ जन्मजयन्तीका अवसरमा आज पोखरा उपमहानगरपालिका–११ फूलबारीमा निर्मित भानुभक्तको पूर्णकदको प्रतिमा अनावरण गरिएको छ ।

प्रतिमाको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् भानु वाङ्मय प्रष्ठिान, पोखराका अध्यक्ष सरु भक्तले अनावरण गर्नुभएको हो ।कार्यक्रममा उहाँले नेपाली राष्ट्रियता, जातीयता र भाषिक एकतामा भानुभक्तले पु¥याएको योगदानको चर्चा गर्दै पर्यटकीय नगरी पोखरामा भानुभक्तको प्रतिमा बन्नुले यो साहित्यिक पर्यटनको विकासका लागि पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले नेपाली भाषा वर्तमानसम्म आइपुग्नुमा आदिकवि भानुभक्तको विशेष योगदान रहेको उल्लेख गर्नुभयो ।

भानु वाङ्मय प्रतिष्ठानका सचिव एवम् विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य अम्बिकाप्रसाद भट्टराईले नेपाली भाषा र साहित्यको विकासका लागि आदिकवि भानुभक्तले पुरयाउनुभएको योगदान चिरकाल पर्यन्त जीवन्त रहने बताउनुभयो । भानुभक्तको विशिष्ट योगदानका कारण उहाँलाई राष्ट्रिय विभूतिका रुपमा लिइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत भीमबहादुर कुँवर, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, मिठु गुरुङ, निर्मल कर्माचार्य, हरिदेवी कोइराला, पद्यराज ढकाल लगायतले भानुभक्तको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रमअघि पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, रानीपौवा हुँदै प्रतिमास्थलसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button