३८ लघुजलविद्युत् आयोजना मर्मत

गोरखा, ३० असार –

जिल्लाको बारपाक केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका कारण अवरुद्ध भएका ३८ लघुजलविद्युत् आयोजनाको मर्मत कार्य सुरु गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सोह्र किलोवाट क्षमताको सिम्जुङको पात्लेखोला, बारपाक–२ को पाँच किलोवाट क्षमताको राङ्रुङ बल्झेखोला, सौरपानीको ११ किलोवाट क्षमताको पेल्कुखोला र बारपाकस्थित १३० किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजना मर्मत भई सञ्चालनमा आएको छ ।

यस्तै गुम्दास्थित २५ किलोवाट क्षमताको मग्लुङखोजा, स्वाँराको ७० किलोवाटको स्तुलखोला, ३५ किलोवाट क्षमताको माथिल्लो हुन्डी, खरिबोटको २५ किलोवाट क्षमताको लिलीखोला, १६ किलोवाट क्षमताको लापुको नौलीखोला दोस्रो लघुजलविद्युत् आयोजना धमाधम मर्मत सुरु गरिएको जिविसअन्तर्गत वैकल्पिक ऊर्जा शाखाका अधिकृत कुलराज चालिसेले जानकारी दिनुभयो ।

केही आयोजना भूकम्पपछि झरेको पहिरोले पुरिएपछि मर्मत गर्न बाँकी नै छ । नौ किलोवाट क्षमताको सिम्जुङको अधेरीखोला, निजी क्षेत्रको लगानीमा सुरु भएको झ्याल्लाभूमि, घ्याच्चोकस्थित शुभखोलालगायत आयोजना मर्मतमा प्राक्टिकल एक्सन नामक संस्थाले सघाउने भएको छ ।

उहियाको लुंगेतखोला, लापुको नौलीखोला पहिलो, सिङ्लाखोलाजस्ता आयोजना मर्मतमा बजेटको अभाव देखिएको छ । स्थानीय उपभोक्ताले आर्थिक सहयोग सङ्कलन गरेर आयोजना मर्मत गर्न सक्ने अवस्था छैन । उहियाका छिरिङ गुरुङका अनुसार ती आयोजना मर्मत गर्न रकम अभाव भएकाले मर्मतमा सरकारले सहयोग गर्नुपर्ने स्थानीवासीको माग छ ।

विद्युत् अवरुद्ध भएपछि टेलिफोनका टावर सञ्चालन गर्न सकिएको छैन भने कुटानीपिसानीको समस्या भएको छ । जिल्लाका १७ हजार ३४९ घरधुरीले लघुजलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् प्रयोग गर्दै आएका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button