पहरोमा खोपेर आकृति दिँदै अगाडि पार्क बनाइने

खोटाङ, ३१ असार –

पर्यटन प्रवद्र्धनका लागि खोटाङको दोर्पाचिउरीडाँडा गाविस–६ छहरेमा ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिने काम सुरु गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दायाँबायाँ र माथिदेखि तलसम्म समतल सतह रहेको विशाल ढुङ्गे भिरलाई खोपेर ‘किरात स्मृति पार्क’को नाममा कलात्मक आकृति दिने काम सुरु गरिएको हो।

परापूर्वकालमा महादेवले टेकेको किंवदन्ती रहेको तथा किरात राईको ऐतिहासिक थलोका रुपमा रहेको चट्टानी पहरोलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न ढुङ्गा खोप्ने र कुँद्ने काम भइरहेको किरात स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश राईले बताउनुभयो । “पहराको दायाँतर्फ सांस्कृतिक सामग्री र बायाँतर्फ राईको पाछाको नाम कुँद्ने काम भइरहेको छ,” अध्यक्ष राईले भन्नुभयो, “पहराको अगाडि ठूलो आकारमा किरात स्मृति पार्क बनाउने तयारी गरेका छौँ ।”

किरात समुदायको ऐतिहासिक ठाउँको संरक्षण गर्दै पर्यटकीयस्थलको रुपमा विकासका लागि आव २०७२-०७३ मा गाविसको रु ५० हजार बजेटबाट पार्क निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

अवधारणा र सीप भए ढुङ्गालाई पनि आकर्षक आकृति दिन सकिन्छ । त्यही आकृतिलाई देखाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । तर, गाउँघरमा यस्तो सम्भावनाको खोजी कमै भइरहेका छन् । यही अवधारणाअनुसार छहरेमा पहरा खोपेर पार्क निर्माणको काम थालिएको स्थानीय बताउँछन् । दुम्ली–दोवेला सडकखण्डमा पर्ने ढुङ्गे भित्ताको बायाँतर्फ दोर्पाचिउरीडाँडामा बसोबास गर्दैआएका किरात राईको पाछाको नामावली तथा दायाँतर्फ ढोल, झ्याम्टा, धनुषवाण, तिर, चुलो, चिन्डो, बुछालु, बिनायोलगायतका किरात संस्कार-संस्कृतिसम्बन्धी सामग्रीको आकृति कुँदिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

बाँसको पाँच तले खट उभ्याएर गत फागुन २१ गतेदेखि पहरा खोप्ने काम भइरहेको छ । पहरोमा चाम्लिङको १९ पाछा, वान्तवाको तीन पाछा, साम्पाङको तीन पाछा र नाछिरिङको एक पाछाको नाम खोप्ने काम भइरहेको छ । विदेशमा काम गरेर फर्किएका युवाले उभ्याएको खटमा चढेर स्थानीय भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईले ढुङ्गामा आकृति र अक्षर कुँद्ने काम गरिरहेका छन् ।

क्रमानुगत योजनाकारुपमा रहेको पहरे पार्कमा अक्षर र चित्र कुँदेपछि रङ्गरोगन गरेर आकर्षक स्वरुप दिइनेछ । पहराको पुछारमा रहेको सानो ओढारको ढोकामा महादेव र पारुहाङको मूर्ति राखिने जनाइएको छ ।

पहरालाई पार्कको रुपमा विकास गर्न थालनी भएपछि हाल हङ्कङमा बसोबास गर्दैआएका स्थानीय आर्थिक सहयोग गर्न उत्सुक रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button