बाल विवाहविरुद्ध अभियान सुरु

  • पोखरा न्यूज
  • २०७३ अषाढ ३१
बाल विवाहविरुद्ध अभियान सुरु

जुम्ला, ३१ असार –

यहाँको लाम्रा गाविसका सम्पूर्ण स्थानीयवासीले बाल विवाहविरुद्धको अभियान सुरु गरेका छन् ।

लाम्रालाई आगामी आव २०७३-०७४ सम्म बालमैत्री गाविस घोषणा गर्ने उद्देश्यले गाविसको नेतृत्वमा स्थानीयले यो अभियान थालेका हुन् । समाजमा विद्यमान कुसंस्कारको नियन्त्रण, न्यूनीकरण र निर्मूलीकरण गर्न यो अभियान थालिएको गाविस सचिव सुरतबहादुर रावतले बताउनुभयो ।

सचिव रावतले भन्नुभयो, लाम्रालाई ०७३-०७४ भित्र बालमैत्री गाविस घोषणा गर्ने कार्यतालिका तयार गरिसकेका छौँ, त्यसका लागि यहाँका नौवटै वडावासीले हरेक क्षेत्रमा बालमैत्री वातावरण सिर्जना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । अभियानको नेतृत्व यो गाविसका महिलाले नै गरेका छन् । अरुलाई भनेर नहुने भन्दै समाज परिर्वतनको सुरुवात आफैँबाट गर्ने उनीहरुको भनाइ छ ।

बाल विवाहका कारण कर्णालीका किशोरी जवान हुन नपाउँदै आमा बन्नुपर्ने र कम उमेरमै मर्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउन यो अभियान थालिएको महिला स्वयम्सेविका साउनी खड्काले जानकारी दिनुभयो । यसमा सबैले साथ दिएको उहाँको भनाइ थियो ।

खासगरी, बालमैत्री गाविस घोषणा तयारीका लागि विभिन्न १६ बुँदामा आचारसंहिता बनाइएको गाविसले जनाएको छ । गाविसलाई बालमैत्री तथा बाल विवाहरहित बनाउन विद्यालय बालमैत्री हुनुपर्ने भगवती प्रावि धौलापानी जुम्लाका प्रधानाध्यापक लालप्रसाद चौलागाईंले बताउनुभयो ।

बालमैत्री गाविसका लागि एक वर्षदेखि विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा जनचेतना, सडक नाटक र देउडा गीतलाई प्रमुख माध्यम बनाइएको स्थानीय हरिगोपाल चौलागाईंले जानकारी दिनुभयो ।

यो कार्यमा महिला स्वास्थ्य स्वयम्सेविका गाविसका नौवटै वडामा परिचालित भएको उहाँले बताउनुभयो । यसमा बालबालिकाको स्वास्थ्य अवस्थालाई बढी ध्यान दिइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस