६ घरपरिवार पहिराका बीचमा

  • पोखरा न्यूज
  • २०७३ श्रावण २
Post Thumbnail

ताप्लेजुङ, २ साउन –

विकट गाविस तापेथोक–८ को सोत्लीमा बस्तीका छ घरपरिवार पहिराका बीचमा परेका छन् ।

वर्षासँगै शनिबार बिहान बस्तीको दुवैतर्फका भागमा पहिरो झरेको र पहिरो झरेदेखि नै सो क्षेत्र सम्पर्कविहीन बनेको लेलेप निवासी ग्याबु शेर्पाले बताउनुभयो ।उहाँले लेलेप गाविसबाट हेर्दा सो बस्तीबाट ती परिवार पहिरो छिचोलेर वारिपारि जान सक्ने अवस्था नभएको बताउनुभयो । सो क्षेत्र जाने बाटो र लेलेप हुँदै घुन्सा जाने बाटाामा रहेको पुलमा समेत पहिराले अवरोध पुरयाएको छ ।

खोला किनारै किनार भएर पुग्न सकिने भए पनि पहिरो र बाढीले गर्दा आसपास क्षेत्रबाट समेत जान कठिनाइ भएको बताइएको छ । पहिरो गएको भन्ने खबर पाएपछि शनिबार नै प्रहरीको टोली घटनास्थलतर्फ गए पनि पहिरोका कारण घटनास्थल पुग्न नसकी बीच बाटादेखि नै फर्किएको छ ।

आज बिहान आसपासका क्षेत्रका स्थानीयवासीसहित लेलेप र तापेथोक प्रहरी चौकीबाट पुनः प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ तर आज गएको टोलीसँग सम्पर्क भएको छैन ।

सो क्षेत्र सञ्चारको पहुँचबाट टाढा रहेकाले गएको टोलीसँग सञ्चार सम्पर्क हुन नसकेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले राससलाई जानकारी दिनुभयो । त्यस बस्तीमा छ परिवारका २१ जना बस्ने गरेको बताइएको छ । त्यस क्षेत्रमा लेलेपको लावाजिनबाट गएका स्थानीयवासी र आज गएको प्रहरी पुगेर नफर्किएसम्म गाउँको अवस्था बुझ्न सक्ने अवस्था नरहेको बताइएको छ । आज गएका स्थानीयवासी र प्रहरीको टोली पुग्न सके नसकेको भन्ने कुनै टुङ्गो छैन।

हिजैमात्र त्यस क्षेत्रमा लेलेपबाट गएका आफन्तसमेत सम्पर्कविहीन बनेको लेलेप निवासी पूर्ण राईले जानकारी दिनुभयो । राईका अनुसार शनिबार बिहान पहिरो झरेदेखि नै स्थानीयवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको र अहिलेसम्म उनी फेला परेको÷नपरेको भन्ने जानकारी हुन सकेको छैन । यता राई बेपत्ता भएको भन्ने कुरा प्रशासनले पुष्टि गरेको छैन । राई पहिरो झरेपछि पहिरोबाट बच्नका लागि भाग्ने क्रममा बेपत्ता भएको जनाइएको छ ।

विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ चक्रपाणि पाण्डेले त्यस क्षेत्रमा जाँदै गरेका प्रहरीद्वारा हुने जानकारीको पर्खाइमा आफू रहेको र अहिलेसम्म पहिरो झरेको स्थानीयवासीको भनाइबाहेक वास्तविक अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताउनुभयो । पहिरो गएको क्षेत्र सदरमुकामबाट झन्डै एक दिनको पैदल दूरीमा रहेको बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस