काठमाडौँ, २ साउन –
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
डा हरिश जोशीले भन्नुभयो, “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।” डा जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिनुभयो ।
महामन्त्री कोइरालाले साधारण खानपान गरिरहनुभएको छ । उहाँको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताउनुभयो । महामन्त्री कोेइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उहाँलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्था रहनुभएका उहाँलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
उहाँको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो । डा कोइरालाको उपचारमा उहाँकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो । रासस





