पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लान फुटबलको साथ

काठमाडौं, साउन २ –

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । प्रायोजन सम्झौता तीन बर्षको रहेको छ । प्रायोजन बार्षिक चार लाख रुपैयाको रहेको छ ।

‘सरकारबाट हुनुपर्ने यस्तो काम तपाइहरुले गरिरहनुभएको छ । ठूलै युवा समूह खेलकुदमा सक्रिय छन् । यो समूह चलायमान छ । यसमा सहभागि हुने हाम्रो दायित्व हो, आकांक्षा र कर्तव्य पनि,’ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक प्रमुख शाहले भन्नुभयो, ‘अहिलेको सम्झौता तीन बर्षको हो र यसपछि पनि हामीवीच यस्तै साहकार्य निरन्तर राख्न चाहन्छौं ।’

१३ औं संस्करणको रुपमा साउन ६ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतीष्ठानमा सञ्चालन हुने कार्यक्रमबारे नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले भन्नुभयो, ‘२०६० सालमा हामी आफैले पैसा उठाएर २५ हजारले दुई विधामा खेलाडीलाई पुरस्कृत गर्दै अवार्ड दिएका थियौं । अहिले ३० लाख रुपैया बढी बजेटमा आयोजना हुदैछ । कर्पोरेट हाउसहरुबाट सामाजिक उत्तरदायित्वअन्तर्गत् सहयोग लिएर हामीले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुलाई सम्मान गरिरहेका छौं । रुस्लान फुटबलको साथले अवार्डलाई अझ राम्रो बनाउने कोसिस गर्नेछौं ।’

‘केहि बर्षअघि रिसर्च गरेर लोकप्रिय रहेका फुटबल, क्रिकेट र बास्केटबलमा हामीले प्रायोजन गरिरहेका छौं । व्यापार प्रबद्र्धनभन्दा पनि सामाजिक विकासको लागि हामीले स्कुल स्तरबाटै लगानी गरिरहेका छौं,’ जावलाखेल डिस्टिलरीका चिफ ब्रान्ड अफिसर सुशील श्रेष्ठले भन्नुभयो,‘अध्ययनका आधारमा नेपालमा फुटबल, क्रिकेट र बास्केटबल तीन खेल सबैभन्दा बढी लोकप्रिय छन् । खेलक्षेत्रमा तीनै खेलमार्फत हामी अघि बढिरहेका छौं ।

मञ्चका महासचिव प्रकाश तिमल्सिनाले रुस्लानको साथले मञ्चलाई थप उत्साहित बनाउनको बताउनुभयो । नेपाली खेलकुद विकासका लागि समान धारणा भएका मञ्च र रुस्लानबीचको सहकार्य लामो समयसम्म रहनेमा पनि तिमल्सिनाले विश्वास व्यक्त गर्नुभयो ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने नेपाली खेल क्षेत्रको सबैभन्दा प्रतिष्ठित कार्यक्रम हो । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफटाइम र पिपुल्स च्वाइस गरी आठ विधामा अवार्ड प्रदान गरिनेछ ।

एसएमएस भोटिड र फेसबुक लाइकको आधारमा हुने पिपुल्स च्वाइस, तथा बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५०–५० हजार रुपैया प्राप्त गर्नेछन् । सबै विजेताले डिसहोमको सेटअप बक्स र १ बर्षको निशुल्क सेवा प्राप्त गर्नेछन् । मनोयनमा पर्ने खेलाडी र प्रशिक्षकले टाइमेक्स घडी र अन्य उपहार पाउनेछन् । एसएमएस भोटिङ गर्नेमध्ये लक्की ड्रमार्फत ५ भाग्यशाली विजेताले डिसहोमको सेटअप बक्स प्राप्त गर्नेछन् ।

अवार्डमा रुस्लान हन्ड्रेट पर्सेन्ट फुटबलसहित डिसहोम, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिङ्गी सह प्रायोजक रहेका छन् । पार्टनरको रुपमा एभिन्यूज टेलिभजन, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, टिएचटी लाइभ ३३१३१, जोन प्लेयर, टाइमेक्स, इमेजिङ, नेपा म्युजिक, अल इन वान आर्टस सर्भिस, आरजे स्पोर्टस् र होटल क्राउन प्लाजा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button