फलेवास (पर्वत), ३ साउन –
मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग आज बिहानदेखि एकतर्फी रुपमा सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधिमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । सुरक्षा निकाय र डोजर लगाएर रातभरि गरिएको प्रयासपछि बिहान ४ बजेबाट सडक एकतर्फीरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । सडक आइतबार साँझ ७ बजेदेखि अवरुद्ध भएको थियो ।
मोदी खोलामा आएको बाढीको उच्च बहावले पक्की सडकनै भत्काएर लगेपछि भित्तातर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सुचारु गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
सडक सुचारु भएसँगै रातिदेखि अलपत्र बनेका छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा सिङ्गो धौलागिरि अञ्चल प्रभावित हुने गर्दछ । उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।
लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा पोखरा–बागलुङ सडक र मालढुङ्गा–बेनी सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पर्वतका ग्रामीण सडक पनि विगत एक महिनादेखि ठप्प बनेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution