चौतीस जलाधार क्षेत्रको पहिचान गरी संरक्षण

कञ्चनपुर, ३ साउन –

कञ्चनपुरको चुरे क्षेत्रमा पर्ने जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्य अगाडि बढाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भूसंरक्षण कार्यालय कञ्चनपुरले चुरे क्षेत्रमा पर्ने ३४ जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्यलाई अगाडि बढाएको हो । चुरे क्षेत्रमा पर्ने भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका जलाधार क्षेत्रको पहिचान गरिएको छ ।

जलाधार क्षेत्रमा बसोबास गर्ने जातजातिको भूउपयोगको अवस्था, पहुँच, पानी ढलको अवस्था, उत्पादन क्षमता, माटो, ताल तलैया, नदी प्रणालीको अवस्थाबारे वैज्ञानिक तरिकाले अध्ययन गरी संरक्षणका कार्यलाई अगाडि बढाइएको भूसंरक्षण कार्यालय कञ्चनपुरका प्रमुख गङ्गादत्त जोशीले बताउनुभयो ।

भूक्षय नियन्त्रण गर्न र जैविक छेकवार निर्माण गर्नका लागि आव ०७२÷७३ मा रु ६५ लाख खर्च गरिएको उहाँले बताउनुभयो । “जलाधार क्षेत्र जोगाउनका लागि मुहानमा वृक्षरोपण, जैविक तटबन्ध, खहरे खोला नियन्त्रण र ताल तलैया पुरिनबाट जोगाउन टेवा पर्खाल निर्माण र चेकडयाम बनाउने कार्य गरेका छौँ” उहाँले भन्नुभयो ।

कार्यालयले भीमदत्तनगरपालिकाको रौटेला, कामीकाटे, गहताडी खोला र झलारी पिपलाडी नगरपालिकाको सनबोरा नदीको अछामी फाँटामा ढुङ्गा र तारजालीको तटबन्ध निर्माण गरेको छ ।

कृष्णपुरको नौलाडी ताल, बेदकोट नगरपालिकाको सिद्धसरोवर, भीमदत्तनगरपालिकामा रहेको भम्केश्वर तालको संरक्षणका लागि मात्रै रु १० लाख बढी रकम खर्च गरिएको छ ।

ताल पुरिनबाट जोगाउन माटो झिक्ने, तटबन्ध निर्माण गर्ने लगायतका कार्य गरिएका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जलाधार क्षेत्र जोगाउनका लागि नौलाडी र तिलाडे क्षेत्रमा मात्रै आठ हजार बढी बिरुवा रोपिएका छन् । वृक्षरोपण, जैविक तटबन्ध र जलाधार क्षेत्रको संरक्षणका लागि सो कार्यक्रमअन्तर्गत रु ३० लाख खर्च गरिएको छ ।

“स्थानीय बासिन्दाको मागका आधारमा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ” कार्यालय प्रमुख जोशीले भन्नुभयो । कार्यक्रम सञ्चालन गरिएपछि चुरे क्षेत्रको विनास हुने क्रममा कमी आउने विश्वास लिइएको छ । भूसंरक्षण कार्यालय कञ्चनपुरमा विसं २०७१ मा स्थापना भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button