नयाँ सरकार गठनको सम्भावना छैन – उपप्रधानमन्त्री रावल

  • पोखरा न्यूज
  • २०७३ श्रावण ३
नयाँ सरकार गठनको सम्भावना छैन – उपप्रधानमन्त्री रावल

काठमाडौँ, ३ साउन –

उपप्रधान एवम् रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको सङ्क्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने दृढता प्रकट गर्दै संविधानद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुलुकलाई अगाडि बढाइने बताउनुभयो ।

उपप्रधानमन्त्री रावलले नयाँ सरकार गठन गर्नुपर्दा संविधान संशोधन तथा दलहरुबीच सहमतिको खाँचो पनि औँल्याउनुभयो । उहाँले विभिन्न दलको साथ र सहयोगमा संविधान जारी भए जस्तै संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको भूमिका मुलुकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने उद्देश्यले वर्तमान सरकारको गठबन्धनलाई प्रभावित बनाएकामा चिन्ता व्यक्त गर्दै उहाँले सरकारले संसद्मा प्रस्तुत गरेका आर्थिक विधेयकलाई सभामुखले प्राथमिकता नदिएका विषयमा संसद्मा छलफल हुने जानकारी दिनुभयो ।

नेता रावलले देशमा संविधान जारी भएपछि विभिन्न कठिनाइका साथ राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकारले सुशील कोइराला नेतृत्वको सरकारका पालादेखि कायम भएको नाकाबन्दीलाई हटाएको स्मरण गराउनुभयो ।

देशका विभिन्न स्थानमा भूकम्पले पुरयाएको धनजनको क्षतिबाट प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा पुनःनिर्माणका कार्यलाई अगाडि बढाउन सरकारले आवश्यक ऐन निर्माण गरेको पनि उहाँले बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस