प्रधानमन्त्री ओलीले भने – वर्तमान गतिरोधको दोषी कांग्रेस-माओवादी हुन्

काठमाडौं, ४ साउन –

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोधका लागि उनका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने कांग्रेस र माओवादी केन्द्रलाई दोष दिएका छन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न तीन प्रमुख दलका शीर्ष नेताबीच सोमबार भएको भेटमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भने, ‘तपार्इंहरू सहमतिका साथ अघि बढेको भए वा बढ्ने प्रतिबद्धता गरेको भने म राजीनामा दिन सक्थें तर जुन विधि र प्रक्रियाबाट आउनुभयो, त्यो राम्रो भएन ।

ओलीले अविश्वास प्रस्तावप्रति दुःख व्यक्त गरेका थिए । ‘अविश्वास प्रस्तावले द्वन्द्व निम्त्याउन सक्छ, बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा द्वन्द्वको चाहना गरिरहेको तपाईंहरूबीच भनिरहनु नपर्ला भन्दै प्रधानमन्त्री ओली देउवा र दाहालसँग आक्रोशित भएका थिए ।

‘संसद्मा अविश्वास प्रस्ताव आइसकेकाले फेस गर्छु, अविश्वास प्रस्ताव पारित भए पनि संवैधानिक बाटो सहज छैन ।’

तीन शीर्ष नेतामात्र सहभागी बैठकमा दाहालले प्रधानमन्त्रीसँग राजीनामा वा अविश्वास फेस दुईमात्र विकल्प रहेको भन्नासाथ ओलीले भने, ‘राजीनामा दिने मेरो निजी कुरा हो, तपाईंहरू पहिलो विनियोजन विधेयकसम्बन्धी तीनवटा विधेयक पारित गर्नुहोस्, अन्य कुरा पछि हुन्छ, अन्यथा संसद्मा अविश्वास प्रस्ताव आइसकेकाले त्यसको फेस गर्नेछु । अविश्वास पारित भए पनि संवैधानिक बाटो सहज छैन ।

संसद्मा प्रधानमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले अविश्वास दर्ता गराएको एक सातापछि भएको पहिलो भेटमा ओलीले विनियोजन विधेयक २०७३ अन्तर्गत आएका तीनवटा आर्थिक विधेयक पारित गरेपछि अविश्वास प्रस्तावमाथि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए । अविश्वास प्रस्ताव पारित हुँदा पनि नयाँ सरकार गठनका लागि सहज बाटो नभएको तर्फ ओलीले दाहाल र देउवाको ध्यानाकर्षण गराए ।

कांग्रेस र माओवादीले आफूविरुद्ध ल्याएको अविश्वास प्रस्तावको निर्णयपछि नयाँ सरकार गठनका सम्बन्धमा संविधानमा अस्पष्ट भएकाले आपसी सल्लाहमा अघि बढ्न ओलीले आग्रह गरेका थिए । दाहालले तत्काल त्यसको प्रतिवाद गर्दै भनेका थिए, ‘अविश्वास प्रस्ताव आइसकेको हुँदा उक्त प्रस्ताव पारित हुनासाथ तपाईंले राजीनामा दिनुहोस्, आर्थिक विधेयक स्वतः पारित हुन्छ । ओलीले आर्थिक विधेयक पारित नभई अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने बताएका थिए । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब मेरो राजीनामा होइन, संविधानअनुसार सबै कुरा अघि बढ्छ ।

कांग्रेस सभापति देउवाले ‘संसारकै संसदीय इतिहासको एउटै व्याख्या संसद्मा अल्पमतमा परेको प्रधानमन्त्रीको एउटै विकल्प भनेको पद त्याग मात्र हुन्छ, अरू केही हुनै सक्दैनु भनेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन नेताको बैठकबारे जानकारी दिँदै माओवादी अध्यक्ष दाहालले भने, ‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिएर मुलुकमा अवरुद्ध राजनीतिलाई निकास दिन आग्रह गरें, प्रत्युत्तरमा ओलीले संविधानअनुसार जान्छु भन्ने प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले दाहाल र देउवासँग प्रधानमन्त्रीको राजीनामा र तपाईंहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव एकै होइन भन्दै आफू संविधानअनुसार अघि बढ्ने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री ओलीले आर्थिक विधेयकमा सभामुख ओनसरी घर्तीको भूमिका ठिक नभएको र सभामुखको पद दुरुपयोग भएको दाबी गरेका थिए । गत साता मंगलबार माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले ओली सरकार परित्याग गरेका थिए भने कांग्रेस र माओवादीले बुधबार ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शीर्ष तीन नेताबीच आरोपप्रत्यारोमा बैठक सकिएको स्रोतले बतायो ।

साभार : अन्नपुर्णपोष्ट बाट

original link: https://www.annapurnapost.com/news/52271

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button