नेपालीको अवस्था बुझ्न टोली अफगानिस्तान जाँदै

काठमाडौँ, ४ साउन –

अफगानिस्तानमा आतंककारी हमलामा परी ज्यान गुमाएका र त्यहाँ रहेका नेपालीको स्थिति अध्ययन गर्न सरकारी टोली शुक्रबार जाने भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

असार ६ मा भएको घटनामा १३ नेपालीले ज्यान गुमाएका थिए। श्रम मन्त्रालयका अनुसार पाकिस्तानका लागि कार्यवाहक राजदूत तीर्थराज अर्यालसहित ५ सदस्यीय टोली जान लागेको हो। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने, श्रम तथा रोजगार मन्त्रालयकी सहसचिव आभा श्रेष्ठ, नेपाल प्रहरीका एसएसपी र अर्का एक अधिकारी टोलीमा छन्।

टोलीले नेपालीको त्यहाँको अवस्था र फर्कने तयारीबारे जानकारी लिनेछ। परराष्ट्र मन्त्रालयले भने यो टोलीको खास उपयोगितामाथि शंका गरेको छ। परराष्ट्रका अनुसार त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन सकेको खण्डमा मात्र उक्त टोलीको उपयोगिता हुने नत्र छानबिन गरेर मात्र खासै उपयोग नहुने जनाएको छ। टोलीले भने सबै पक्षसँग छलफल र भेटघाट मिलाएर जान लागेको दाबी गरेको छ।

श्रमका प्रवक्ता गोविन्दमणि भुर्तेलले उक्त टोलीले त्यहाँको अवस्थाबारे जानकारी दिने बताए। उनले टोलीले घटनाको बारेमा अफगान सरकार र नेपालीको धारणासमेत लिने प्रस्ट पारे। मृत्यु भएका १२ जनाको शव लिन असार ७ मा त्यहाँ पुगेको नेपाल एयरलाइन्सको विमानमा २४ नेपालीलाई ल्याइएको थियो। तर कतिपय नेपालीको प्रक्रिया नपुगेको भन्दै त्यो समयमा ल्याउन सकेको थिएन।

छुटेका अन्य नेपालीको पनि अवस्था बुझेर फिर्ता ल्याउन पहल हुने बताइएको छ। भिसा नभएपछि अवैध बसेका कतिपय नेपाली बाध्यकारी रूपमा बसेका छन्। उनीहरूको ‘ओभर स्टे फी’ तिरेर वा त्यो त्यहाँको मन्त्रिपरिषद्बाट मिनाहा गरेर मात्र नेपाल ल्याउन सकिनेछ। त्यसमा कूटनीतिक पहल गरेर मात्र टोली जान राम्रो हुने अधिकारीले बताएका छन्।

त्यो सबै काम टोली उता गएर गरिने प्रवक्ता भुर्तेलको दाबी छ। उनले भने, ‘घटनाबारे विस्तृत अध्ययन गर्न नेपाली टोलीले त्यहाँ गएर छुट्टाछुट्टै निकायलाई भेट्नेछ।’ पाँच महिनादेखि भिसाविहीन भएर क्याम्पमा नै बस्दै आएका गोविन्द पौडेलले नेपाल सरकारले आफूहरूलाई फर्काउन पहल नगरेको गुनासो गरे। उनले भने, ‘हामी जस्तालाई फर्काउन पहल भएको छैन। घुम्ने शैलीमा आउनुभन्दा तयारी गरेर टोली आएमा राम्रो हुनेछ।’ नेपालीलाई अझै पनि त्यहाँ सुरक्षा तयारीबिनै काममा लगाइएको छ।

साभार: इकान्तिपुर बाट

original link: https://kantipur.ekantipur.com/news/2016-07-19/20160719081132.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button