लर्ड्समा नेपालको प्रभाव

  • पोखरा न्यूज
  • २०७३ श्रावण ५
Post Thumbnail

काठमाडौँ, ५ साउन –

 नेपालले मेरिलेबोन क्रिकेट क्लबसँगको च्यारिटी खेलमा विजय हात पारेको छ । नेपालले लर्ड्स क्रिकेट मैदानमा मंगलबार ४१ रनको सानदार विजय हात पार्‍यो । नेपालले इंग्ल्यान्ड भ्रमण ५-० विजयका साथ अन्त्य गर्‍यो ।

टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय १७ रन बनायो । अर्को महिना नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका लागि इंग्ल्यान्ड भ्रमणमा आएको नेपालले एमसीसीले ४७-२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।

‘हामीले विश्व क्रिकेटको उदगम स्थलमा आएर खेली इतिहास रचेका छौं, यही प्लेट फर्ममा आएर विश्वलाई एउटा सन्देश दिन सकेका छौं,’ नेपालका कप्तान पारस खड्काले भने, ‘एतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाल जस्तो राष्ट्रले सँधैं खेल्न पाउने होइन । हामीले जुन अवसर पाएको थियौं, त्यसमा आफुलाई प्रमाणित गरेका छौं ।’

अनिल मण्डललाई सुरुआत मै गुमाए पनि नेपाललाई सवैले औषत प्रदर्शन गर्दै उकासेका थिए । अनिल २ रन बनाई आउट भए । शरद भेषावकरले २७ रन बनाए । ४० बल खेली ५ चौका प्रहार गरेका उनी स्टिभ क्लार्कको बलमा बोल्ड भए । ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । ६३ बल खेली ५ चौका प्रहार गरेका उनी रक्षात्मक खेल्नेक्रममा कट एन्ड बोल्ड भए ।

पारसले ३० रन जोडे । २८ बल खेलेका उनले नेपाली इनिङ्सको एकमात्र छक्का प्रहार गरे । सागर पुनले २६, राजु रिजालले २४, सोमपाल कामीले २० रन बनाउदै नेपाललाई सम्मानजनक स्कोरमा पुऱ्याए । विनोद भण्डारी ९ रनमा आउट भए । वसन्त रेग्मी २७ बलमा २ चौका प्रहार गरी २४ रनमा नटआउट रहे । एमसीसीबाट क्लार्क र किथ डचले २-२ विकेट लिए ।

एमसीसीबाट क्लार्क र जर्ज एडाएरले राम्रो सुरुआत दिलाए । तर इनिङसको अधिकांश समय एमसीसीको रन रेट ३ भन्दा मुनि रहयो । क्लार्क १६ रन बनाई शक्ति गौचनको बलमा बोल्ड भए । अर्का स्पिनर सागर पुनले ग्लेन फिलिप्सलाई शुन्यमा बोल्ड गरे । सागरले ३ महत्वपूर्ण विकेट लिएपछि एमसीसी दबाबमा परेको थियो ।

तर एडाएरले एउटा इन्डबाट सम्हाल्दै एमसीसीको इनिङ्सलाई अगाडी बढाए । उनले १ सय २३ बल खेली ८ चौका प्रहार गरी १ सय रन बनाए । वसन्तलाई लगातार दुई छक्का प्रहार गरेका उनी अन्तमा वसन्तकै बलमा ४६ औं ओभरमा बोल्ड भए । एडाएरलाई बोल्ड गरेसँगैं एमसीसीको आशा पातलिएको थियो । टेलर र एडाएर बाहेक रिचर्ड विल्किनसनले मात्र दोहोरो स्कोर बनाए । विल्किनसनले २० रन जोडे ।

नेपालबाट सागर र वसन्तले ३-३ विकेट लिए । सागरले १० ओभरमा २ मेडन राख्दै ३५ र वसन्तले ९.२ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे । दोस्रो स्पेलमा उत्कृष्ट बलिङ गरेका सोमपाल कामीले २ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चे । सन्दीप लामिछाने र शक्ति गौचनले १-१ विकेट लिए ।

नेपालको ब्रिटेनसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा खेल आयोजना भएको थियो ।

साभार: इकान्तिपुर बाट

original link: https://kantipur.ekantipur.com/news/2016-07-20/20160720074307.html



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस