‘अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री’

  • पोखरा न्यूज
  • २०७३ श्रावण ५
‘अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री’

काठमाडौं, साउन ५ –

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारको भन्दा कुशल नेतृत्व दिने दाबी गरेकोले कांग्रेस र माओवादीबिच नयाँ गठबन्धन बनेको बताउनु भएको छ ।

उहाँले अबको १० दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै भन्नुभयो, ‘सरकार बनाउने कुरामा संविधानमा कुनै द्धिविधा छैन ।’

रिपोर्टस क्लबमा बुधबार भएको कार्यक्रममा उहाँले सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेकाले पहिला अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने दाबी गर्नुभयो ।

‘सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि पहिला यो विषयले प्राथमिकता पाउनुपर्छ, यो प्रस्तावमाथि मतदान गरेर टुंगो लगाइसकेपछि मात्रै अन्य विषयमा जानुपर्छ, यसमा कोही पनि द्धिविधामा पर्नु हुँदैन् ।’

आश्रित विधेयक पारित नगरे आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाइएकोमा असन्तुष्टी पोख्दै उहाँले भन्नुभयो,‘विनियोजन विधेयक पास भैसकेको अवस्थामा, आश्रित विधेक ३१ असारभित्रै पारित हुनुपर्दथ्यो, त्यसो नभएपछि पहिलाकै व्यवस्था अनुसार काम भैरहेका छन्, अहिले यसको कुनै सान्र्दर्भिकता छैन् ।’

संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको नेता महतको दाबी छ । ‘संसदको मतको आधारमा सरकार बन्ने र हट्ने कुरा लोकतान्त्रिक कुरा हो, यसमा विवाद उत्पन्न गराउनुको कुनै तुक छैन’ उहाँले भन्नुभयो । सत्तारुढ दलले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको दाबी गर्दै उहाँले त्यसको विकल्पमा नयाँ सरकार बनाउनु स्वभाविक भएको तर्क गरे ।

कांग्रेसलाई सरकारमा जान हतार भएको भन्ने आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘एमालेले यस्तो कुरा भन्न मिल्दैन, एमाले २०६२ सालदेखि लगातार सरकारमा छ, यो कुरा जनतालाई राम्रोसँग थाहा छ ।’

ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको डेलिभरी नगरेको आरोप महतको छ । उहाँले भन्नुभयो, ‘कामको हिसाबले यो सरकार पूर्ण असफल भैसकेको छ ।’ यद्धपी नेता महतले संविधान कार्यान्वयन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुबिच एकता हुुनुपर्नेमा जोड दिनुभयो ।

साभार: उज्यालोअनलाइन बाट

original link: https://ujyaaloonline.com/news/60687/sarkar/



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस